अमेरिकी आक्रमणमा मारिएका क्युबाली सैनिकलाई ‘राष्ट्र नायक’को उपाधि
अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा मारिएका ३२ क्युबाली सैनिकलाई क्युबा सरकारले ‘राष्ट्र नायक’को उपाधि दिएको छ । राजधानी हावानास्थित जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा सैनिकहरूको शवलाई हिजो राजकीय सम्मानसहित स्वागत गरिएको थियो ।
राष्ट्रिय झण्डा ओढाइएका कफिनहरूलाई सैनिक गाडीमा राखेर औपचारिक सलामी दिइएको विशेष कार्यक्रममा क्युबाका क्रान्तिकारी नेता राउल कास्त्रो, राष्ट्रपति मिगेल डियाज–क्यानेललगायत उच्च अधिकारीहरूको उपस्थिति थियो ।
क्युबाका आन्तरिक मन्त्री लाजारो अल्बर्टो अल्भारेज कासासले मृत सैनिकहरूको साहस, निष्ठा र बलिदानको प्रशंसा गर्दै उनीहरूलाई राष्ट्र नायकको रूपमा सम्मान गरिएको बताए । विमानस्थलपछि मृत सैनिकहरूको शवलाई क्रान्तिकारी सशस्त्र बल मन्त्रालयमा राखी श्रद्धाञ्जली अर्पण गरिएको थियो । जहाँ हजारौं सर्वसाधारण सडकमा उत्रिएर उनीहरूप्रति सम्मान प्रकट गरेका थिए ।
क्युबाले आज राजधानी हवानामा ठूलो जनसभा र प्रदर्शन गर्दै छ । त्यसपछि सैनिकहरूको शवलाई उनीहरूको गृह जिल्लामा पुुर्याएर अन्त्येष्टि गरिनेछ । भेनेजुएलाको घटनाले क्युबा–अमेरिका सम्बन्ध पनि थप तनावपूर्ण बनेको छ ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू