नागरिक दैनिकका पत्रकार भोकभोकै
नेपाल रिपब्लिक मिडिया लिमिटेड द्वारा प्रकाशित नागरिक दैनिकले श्रमजीवी पत्रकारहरुलाई तलब नदिएको पाइएको छ । साथै,नागरिकले पत्रकारहरुलाई सेवासुविधाबाट पनि वञ्चित गराएको छ ।
श्रमजीवी पत्रकार ऐनले तोकेको न्यूनतम पारिश्रमिकबाट पत्रकारहरुलाई वञ्चित गराएको नागरिकले कोभिडको बहानामा ५० देखि ७५ प्रतिशतसम्म तलब कटौती गरेको छ । ४३ महिनाको तलब काटिएको पत्रकारहरुले बताएका छन् ।
त्यसैगरी,चाडपर्व खर्च,औषधोपचार, सामाजिक सुरक्षा,उपदानलगायतका वैधानिक सुविधा पनि नदिइएको उनीहरुको गुनासो छ । श्रम शोषणको विरोधमा आवाज उठाउने पत्रकारहरुलाई जबरजस्ती निष्कासन गरिएको छ ।
एक पत्रकारले भने,‘लामो समयदेखि चरम श्रम शोषण गर्दै आइरहेका छन् । समयमा कहिल्यै पारिश्रमिक दिँदैनन् । हकअधिकारका लागि आवाज उठाउँदा जबरजस्ती निष्कासन गरियो ।’ नागरिकले श्रम अदालतको आदेश पनि नमानेको ती पत्रकारको भनाइ छ ।
पत्रकारलाई तलब दिन माग गर्दै श्रमजीवी पत्रकार संघ, नेपाल नागरिक प्रतिष्ठान शाखाले गत भदौ ८ गते ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्रको आजसम्म कुनै औपचारिक जवाफ नदिएको शाखाको भनाइ छ ।
शाखाले तलब माग्दै हिजो आन्दोलन गरेको छ । आन्दोलनमा सहभागीहरुले ‘हाम्रो काटिएको तलब खै !’,‘उपदानको व्यवस्था खै ?’,‘चरम श्रम शोषण बन्द गर’,‘सामाजिक सुरक्षा खै ?’,‘मालिकको पेट भर्नुपर्छ भने श्रमिकको पेट भर्नुपर्दैन ?’, लगायतका प्लेकार्ड बोकेका थिए ।

टिप्पणीहरू