गंगालाल र टिचिङ अस्पतालमा बिरामीहरूकाे बिजाेग

गंगालाल र टिचिङ अस्पतालमा बिरामीहरूकाे बिजाेग

दुई ठूला सरकारी अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गरेका छन् । उपचारबापतको करोडौं भुक्तानी वर्षौदेखि नपाएपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ) र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आजदेखि बीमा सेवा बन्द गरेका हुन् । 

स्वास्थ्य बीमा बोर्डबाट शोधभर्नाबापत पाउनुपर्ने रकम उपलब्ध नहुँदा कठिनाइ भएकोले बन्द गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक डा.रवि मल्लका अनुसार बीमाबाट मात्र करिब १४ करोड लिन बाँकी छ । 

अर्कोतर्फ, बीमा बोर्डले विपन्न कार्यक्रम पनि आफैं हेर्न थालेपछि झनै समस्या बढेको उनको भनाइ छ । यसमा विपन्न नागरिक औषधि उपचार कोष (कडा रोग लागेका बिरामीलाई एक लाखसम्म सहयोग) जोडिएपछि थप २५ करोड लिन बाँकी रहेको कार्यकारी निर्देशक मल्लले बताए । 

‘पहिला विपन्नको दाबी सजिलै पास हुन्थ्यो, अहिले बोर्डले हेर्दा बक्यौता झ्याप्पै बढेको छ, उनले भने, ‘बाध्यताले सेवा बन्द गर्नुपरेको हो ।’ स्वास्थ्य बीमाको झण्डै ३९ करोड भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले पनि सेवा बन्द गरेको छ । 

भुक्तानी नपाउँदा अस्पतालको आन्तरिक खर्च व्यवस्थापनमा समस्या भएकोले सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रम चरम संकटमा परेको छ । बीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । भुक्तानी नपाएपछि बीमा सेवा धमाधम बन्द गर्न थालिएको छ । यसबाट सामान्य अार्थिक अवस्थाका बिरामी मर्कामा परेका छन् ।
 

टिप्पणीहरू