अस्पतालकाे भित्तामा क्यान्सर विजेताहरुको आत्मकथा
क्यान्सरको नाम सुन्नेबित्तिकै मानिसको मनमा डर, अन्यौल र मृत्युको छायाँ फैलिन्छ । उपचार सम्भव छ भन्ने जानकारी हुँदाहुँदै पनि धेरै बिरामी र परिवार मानसिक रुपमा पहिल्यै हार मान्ने अवस्थामा पुग्छन् ।
त्रासको यही मनोविज्ञान बदल्न मोरङको टंकिसिनबारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सर जितेर जीवनमा फर्किएका बिरामीका फोटो र अनुभव संकलन गर्ने अभियान थालेको छ । त्यसलाई एउटा फरक र मानवीय अभ्यासको रुपमा अगाडि बढाइएको छ ।
अस्पतालको क्यान्सर विभागका भित्ताहरुमा विराट क्यान्सर इन्स्टिच्युटले उपचार सफल भएर सामान्य जीवनमा फर्किएका बिरामीहरुका तस्बिर, छोटा आत्मकथा र भनाइलाई ‘क्यान्सर जित्ने आशाहरू’ शीर्षकमा सुरक्षित राखेको छ ।
अस्पताल परिसरमै राखिएका यी तस्बिर र शब्दहरुले उपचारका लागि आउने नयाँ बिरामी र आफन्तलाई क्यान्सर जित्न सकिन्छ भन्ने सन्देश दिन्छ । क्यान्सरको रिपोर्ट हातमा परेपछि धेरै बिरामीले निराश भएर भन्ने गरेका छन्,‘अब बाँचिदैन होला ।’

तर, अस्पतालमा आएपछि उनीहरु भित्तामा लेखिएको क्यान्सर जित्नेहरुको आत्मकथा पढेर हौषित हुन्छन् । उनीहरुमा समयमै उपचार गराएमा क्यान्सर जितिन्छ भन्ने आशा पलाउने गरेको छ ।
क्यान्सर जित्नेहरुको आत्मकथामा भनिएको छ,‘रोगको शारीरिक उपचारभन्दा कठिन पक्ष भनेको बिरामीको मानसिक अवस्था हुँदोरहेछ, सम्हालेर समयमै नियमित उपचार गराए क्यान्सरसँग विजयी पाउन सकिन्छ ।’
उपचारपछि निको भएका केराबारीका टेकबहादुर राईले भनेका छन्,‘परिवारको हौसला र बिरामीको हिम्मत क्यान्सरसँग लड्ने ओखती हुँदोरहेछ ।’

सुनसरीको ईटहरीका लख्खीदेवी साहले भनेकी छन्,‘डाक्टरले क्यान्सर भएको भनेपछि म केही बोल्नै सकिनँ । तर, उपचार सकेर आज यहाँ आफ्नो फोटो देखेपछि म मरेर फेरिपनि जन्मिएछु भन्ने लागेको छ ।’
चिकित्सकहरुका अनुसार क्यान्सर लामो उपचार प्रक्रिया हो । बिरामीले आशा गुमाए भने उपचार प्रभावकारी हुँदैन । त्यसैले निको भएका बिरामीका कथालाई ‘लाइभ मोटिभेसन’ का रुपमा लिने गरिन्छ ।
अस्पतालले बिरामी र उनको परिवारमा आत्मविश्वाससहित आशा जगाउन क्यान्सर जित्नेहरुको भनाइसहित फोटो राखिएको क्यान्सर रोग विशेषज्ञ डा.अस्मिता रायमाझीले बताइन् । अस्पतालले काउन्सेलिङ, नियमित संवाद र परिवारलाई समेत उपचार प्रक्रियामा जोड्दै आएको छ ।
उनी भन्छिन्,‘क्यान्सर जित्ने आशाहरु अभियान नयाँ बिरामीका लागि मात्र होइन, उपचाररत बिरामीलाई बीचमै हार नमान्न प्रेरित गर्ने माध्यम पनि बनेको छ ।’ अस्पतालका अर्का काउन्सिलर कमल पौडेल निको भएका बिरामीका फोटो र कथाहरुले उपचारमा धेरै काम गर्ने बताउँछन् ।
‘विराट अस्पतालले संकलन गरेका क्यान्सर जित्नेहरुको फोटोसहितका आत्मकथाहरुमार्फत साझा सन्देश दिएको छ, समयमै उपचार सम्भव छ भने क्यान्सर अन्त्य होइन भन्ने मात्र आत्मविश्वास चाहिन्छ’,उनले भने ।
अस्पताल प्रशासनका अनुसार भविष्यमा क्यान्सर जित्नेहरुको कथालाई अब डिजिटल अभिलेख, जनचेतना सामग्री र क्यान्सर सचेतना कार्यक्रममार्फत समुदायसम्म पुर्याउने तयारी रहेको छ ।
नेपालमा क्यान्सर अझैपनि लुकाउनुपर्ने रोगका रुपमा चिनिन्छ । तर, समयमै उपचार गराएमा यस रोगबाट मुक्ति पाउन सकिन्छ ।

टिप्पणीहरू