कल बाइपास गर्ने चिनियाँ गिरोह पक्राउ

कल बाइपास गर्ने चिनियाँ गिरोह पक्राउ

काठमाडौंबाट सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई कल बाइपासको आरोपमा समातिएको हो । पक्राउ पर्नेमा ३३ वर्षीय लिऊ पान,३१ वर्षीय गाऊ जिकुन, ४१ वर्षीय लिऊ जेनवे, दु स्वाङसेङ, ३८ वर्षीय पेङ काङ, ४९ वर्षीय चाई जिछिन र ४२ वर्षीय जाङ हाऊ रहेका छन् । 

नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा उनीहरुलाई काठमाडौं महानगरपालिका–२६, ज्याठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरेको गोप्य सूचनाको आधारमा प्रहरी टोली परिचालन भएको थियो । 

चिनियाँ नागरिक लिऊ पानले सञ्चालन गरेको लिऊ पान होटल एण्ड रेष्टुरेण्टबाट बाइपास गरिरहेको अवस्थामा उनीहरुलाई हिजो रंगेहात पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट कल बाइपास गर्ने मेसिन पनि बरामद भएको छ । 

उनीहरुमाथि ‘दूरसञ्चार ऐन, २०५३’ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू