नयाँ हुन् कि पुराना– रोजाइ धनी घराना

नयाँ हुन् कि पुराना– रोजाइ धनी घराना

२०७९ को आमचुनावमा 'होलिवाइन’ उपनामले प्रख्यात परिवार दलका अध्यक्ष एकनाथ ढकाल नेकपा (एमाले) का तर्फबाट उपल्लो नम्बरको समानुपातिक सांसद भए । केपी शर्मा ओलीको रोजाइमा पुरुष खस–आर्य क्लस्टरको दोस्रो नम्बरमा पर्दै सांसद भएका उनलाई एमालेले ०७४ को चुनावमा पनि समानुपातिकतर्फ समेटेको थियो । कम्युनिष्ट आन्दोलनमा लागेर कपाल फुलाएका संस्थापक नेताहरूको ठूलोपंक्तिलाई उपेक्षा गर्दै अर्को पार्टीका अध्यक्षलाई आफ्नो कोटामा पार्नुको मुख्य कारण थियो– क्रिश्चियन भोट तान्नु । 

उनै ओलीले कट्टर हिन्दुवादी पूर्वपञ्च पार्टी राप्रपासँग पनि देशभर चुनावी तालमेल गरेका थिए । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई त मकवानपुर–१ बाट सूर्य चिह्नमै उठाइएको थियो । हिन्दु मतदातालाई रिझाउन पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा सरकारी कोषबाट सुनको जलहारी चढाउनेदेखि विशेष आरतीमा सामेल हुने, ठोरीमा राम मन्दिर स्थापना गर्नेजस्ता धार्मिक गतिविधिलाई पनि उनले निकै प्राथमिकता दिएका थिए । विवाह पञ्चमीको दिन प्रधानमन्त्री निवास बालुवाटारबाट बाजागाजासहित डोलीमा सीतालाई अन्माएर ठोरी पठाइएको थियो । 

हिन्दुत्व र क्रिश्चियनको भोट तान्ने ओलीकै जस्तो जुक्ति यसपटक रवि लामिछानेले पनि लगाएका छन् । फागुन २१ को चुनावलाई केन्द्रमा राखेर काठमाडौँ महानगरका मेयर बालेन्द्र साह र उज्यालो नेपालका कुलमान घिसिङ रास्वपामा बिलिन भएका छन् । वैचारिक, राजनीतिक र नीतिगत दृष्टिकोण स्पष्ट नभए पनि धर्मको एजेण्डामा भने यी दुई विपरित कित्ताका पात्र हुन् । सामाजिक सञ्जालमा लाइक, कमेन्ट बटुलेर ‘लोकप्रियता’ कमाएका बालेन्द्र हिन्दुत्वको मुद्दासँग नजिक देखिन्छन् । कुलमानको भने धर्मनिरपेक्षतातिर झुकाव रहेको प्रष्टै बुझिन्छ ।

सुदन गुरुङको दबाबमा दोस्रो लट प्रधानमन्त्रीको उधारो सहमति गरी रास्वपामा समाहित भइसकेको कुलमान समूहले पछिल्लो समय संघीयता र धर्मनिरपेक्षताको एजेण्डामा अडान लिएको चर्चा छ । सुशासनको पक्षमा केही लोकप्रिय नारा अघि सारे पनि संविधानका कतिपय आधारभूत कुरामा रास्वपाको लिङ्ग खुलिसकेको छैन । कांग्रेस, एमालेलगायत पुराना पार्टीमा अवसर नपाएकाहरूको जमघट थलोजस्तो बनेको यो पार्टी संघीयता, धर्मनिरपेक्षताजस्ता संविधानका मूलभूत सवालमा ‘ताक परे तिवारी नत्र गोतामे’ को अवस्थामा देखिन्छ । 

तर, कुलमानले भने कित्ता क्लियर मात्र गरेका छैनन् क्रिसमस डेको अवसरमा पार्टी कार्यालय उद्धघाटन गरी छुट्टै सन्देशसमेत दिइसकेका छन् । रास्वपामा बिलिन हुनुअघि पुस १० गते विशेष समारोहबीच ‘उज्यालो घर’ नाम दिइएको कार्यालय औपचारिकरूपमा उद्घाटन गरिएको थियो । अर्कोतिर, काठमाडौँ उपत्यका वरपरका नुवाकोट, धादिङ्ग, रसुवा, मकवानपुर, काभ्रेजस्ता तामाङ बाहुल्य जिल्लालाई केन्द्रमा राखेर कुलमानले संगठन विस्तारको योजना बनाएको देखिन्छ । यी जिल्लाका तामाङहरू प्रायः क्रिश्चियन भएका छन् । र, नेपालमा इसाई धर्म मान्नेको जनसंख्या बढेर अहिले १४ प्रतिशत पुगिसकेको छ भने सानातिना गरी १८ हजार बढी चर्च छन् । 

एकातिर हिन्दु धर्ममा विश्वास गर्ने रवि र बालेन,अर्कोतिर कट्टर धर्मनिरपेक्षतावादी कुलमान– चुनावमा दुवै धार्मिक समुदायको भोट तान्ने रणनीतिअन्तर्गत तीन भाइ मिलेको ठान्नेहरू छन् । धर्मको सवालमा मात्र होइन, पैसावाल र कलाकारलाई समानुपातिक सूचीमा राखेर चुनाव खर्चको जोहो गर्ने मामिलामा पनि रविले ओलीकै आइडिया पछ्याएको देखिन्छ । गत चुनावमा एमालेले प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनल त कहिले महेन्द्र शेरचन र राज्यलक्ष्मी गोल्छालाई समानुपातिक सांसद बनाएको थियो । निर्वाचनअघि नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता रहेका देवीलाई पार्टीमा भित्र्याएर जनजाति कोटाको १ नम्बरमा राखिएको थियो । 

रवि–बालेन–कुलमानहरूको रोजाइमा पनि यस्तै धनाढ्यहरू परेका छन् । प्रत्यक्ष चुनाव लड्न नसक्ने पहुँचविहीनहरूका लागि व्यवस्था गरिएको समानुपातिकमा अर्बपति चन्द्र ढकालका छोरा सचिनदेखि गोलस्टार जुत्ताकी मालिक्नी विदुषी राणासम्म अटाए । रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा पैसावाला मात्र होइन फिल्म कलाकार, दोहोरी गायकदेखि सामाजिक सञ्जालका भाइरल अनुहार पनि उत्तिकै छन् । 

आफूलाई जेनजी आन्दोलनको असली अगुवा दावी गरेका रविले धरौटीमा जेलबाट छुटेलगत्तै शहीद परिवारका सदस्यलाई भेटेर रोएको भिडियो सार्वजनिक गराएका थिए । तर, समानुपातिकको लिस्टमा भने उनीहरू कतै देखिएनन् । भदौ २३ गते प्रहरीको गोली लागेर ढलेका आन्दोलनकारीको रगतले लत्पतिएको सेतो जुत्ता र गोल्डस्टारका मालिकको फोटो राख्दै सामाजिक सञ्जालदेखि सडकसम्म प्रश्न उठेपछि भोट घट्ने डरले केही व्यक्तिलाई नाम फिर्ता लिन लगाए पनि रविहरूको प्राथमिकता के रहेछ भन्ने स्पष्ट भइसकेको छ ।  

अर्कोतिर, देशकै पहिलो पार्टी बन्ने महत्वाकांक्षासहित अहिले नै प्रधानमन्त्रीको भागबण्डा गरिसकेका रवि–बालेन–कुलमानले भौगोलिक सन्तुलन पनि मिलाएका छैनन् । रविको चुनाव क्षेत्रका मात्रै २१ जनालाई समानुपातिकमा राखिँदा ४४ जिल्ला भने पूर्णरूपमा छुट्न पुगेको छ । धेरै मतदाता र बढी संसदीय सिट भएका काठमाडौँ, मोरङ, कास्की, रुपन्देही जिल्लाले विशेष महत्व पाउँदा एक सिट भएका हुम्ला, जुम्ला, डोल्पा, दार्चुला, दैलेख, रसुवालगायत हिमाली र पहाडी जिल्ला विभेदमा परेका छन् । केही गर्छु भन्ने नयाँबाट पुराना पनि मूच्र्छा पर्ने काम त नहुनुपर्ने हो ।

(जनआस्था साप्ताहिकको पुस २३ गते बुधबारको अंकमा प्रकाशित)   

 

टिप्पणीहरू