कुलमानको राजीनामा स्वीकृत भएपछि जिम्मेवारी तोकिने
तीनवटा विकासे मन्त्रालयको नेतृत्व गर्दै सरकारमा गएका र विवादमा तानिएपछि मन्त्री पद छोडेका कुलमान घिसिङको राजीनामा अझै स्वीकृत भएको छैन ।
कुलमानले हिजो साँझ पत्रकार सम्मेलनमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ ,भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्रीको जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । लगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका थिए ।
तर, अहिलेसम्म उनको राजीनामा पेन्डिङमा रहेको बताइएको छ । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज साँझसम्म राजीनामा स्वीकृत गरी रिक्त तीनवटै मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरेका छन् ।
कुलमानले सम्हाल्दै आएको मन्त्रलयको जिम्मेवारी आफैँ लिने वा अरू मन्त्रीलाई तोक्ने भन्ने निर्णय प्रधानमन्त्री कार्कीले गरिनसकेका कारण राजीनामा स्वीकृतिमा ढिलाई भएको बुझिएको छ ।
जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारको मन्त्री बनेका कुलमान यसबीच आफैँ पार्टी खोलेर राजनीतिमा सक्रिय भएका थिए । पछिल्लो समय रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका उनीमाथि पद छोड्न नैतिक दबाब परेको थियो ।
सार्वजनिकरूपमा समेत प्रश्न उठेपछि प्रधानमन्त्री कार्कीले उनीसहित रास्वपा कार्यालयमा पुगेर घण्टी बजाउने सञ्चारमन्त्री जगदीश खरेल र बालेनको कोटाबाट आगामी प्रतिनिधिसभा निर्वचन लड्ने तयारीमा रहेका खेलकुदमन्त्री बब्लु गुप्तालाई मार्गप्रसस्त गर्न निर्देशन दिएकी थिइन् । यद्यपि, खरेल र गुप्ताले भने अझै पनि पद छोडेका छैनन् ।
टिप्पणीहरू