अमेरिकी संसदबाट ट्रम्पलाई अंकुश

अमेरिकी संसदबाट ट्रम्पलाई अंकुश

अमेरिकी सिनेटले राष्ट्रपति ट्रम्पका एकपक्षीय निर्णयमाथि अंकुश लगाएको छ । भेनेजुयलाविरुद्ध थप सैन्य कारबाही गर्न उध्यत राष्ट्रपतिलाई बेलैमा रोक्ने प्रस्तावप्रति रिपब्लिकन पार्टीकै सांसदहरुको समेत समर्थन देखिएको छ ।

सिनेटमा ४७ विरुद्ध ५२ मतले अघि बढाइएको प्रस्तावमा अमेरिकी कांग्रेस (संसद) को अनुमति बिना भेनेजुयलाविरुद्ध थप सैन्य कारबाही गर्न नपाइने उल्लेख छ । उक्त प्रस्तावको नेतृत्व डेमोक्र्याटहरूले गरेका छन् भने पाँच जना रिपब्लिकन सिनेटरले समेत समर्थन जनाएको पाइएको छ ।

प्रस्तावअनुसार राष्ट्रपति ट्रम्पले भेनेजुयलामा थप सैन्य कदम चाल्नुअघि अमेरिकी संसदको (कांग्रेस) स्वीकृति लिनु अनिवार्य छ । यसलाई अब सिनेटमा पूर्ण बहसपछि मतदान गराइने छ । प्रस्तावलाई प्रतिनिधि सभाले पनि पास गरेको अवस्थामा कार्यान्वयनको लागि अन्त्यमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर आवश्यक हुन्छ । 

तर  राष्ट्रपति ट्रम्पले त्यसमाथि भिटो प्रयोग गर्ने सम्भावना अधिक देखिन्छ । त्यस्तो अवस्थामा दुई तिहाइ सांसदको समर्थन आवश्यक हुन्छ,जुन अहिलेको संसदमा असम्भव प्रायः हुनेछ । 

अमेरिकी सेनाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई काराकासमा सैन्य कारबाही गरी मध्यरात नियन्त्रणमा लिएको थियो । तर उक्त कारबाहीका लागि अमेरिकी प्रशासनको अनुमति नभएकाले रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीमा चिन्ता उत्पन्न गराएको पाइन्छ । विश्लेषकहरूका अनुसार, यो प्रस्ताव गम्भीर चिन्तनशील राजनीतिक कदम हो जसले अमेरिकी संसद र कार्यकारीबीचको शक्ति सन्तुलन तथा संवैधानिक युद्ध शक्ति अधिकारको विषयलाई पुनः सतहमा ल्याइदिएको छ।

 

टिप्पणीहरू