विषादीयुक्त भारतीय तरकारी आयातमा ‘सेटिङ’
बेलहियास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयमाथि परीक्षणबिना तरकारी तथा फलफूल आयात गर्न सघाएको आरोप लाग्दै आएको छ। क्वारेन्टाइन प्रमुख र पाठक थरका एकजना अधिकृतले बिनापरीक्षण आयात अनुमति दिने गरेको अन्य कर्मचारी बताउँछन् ।
कार्यालयको अभिलेखमा सीमित फर्ममार्फत् भारतबाट तरकारी तथा फलफूल आयात हुँदै आएको देखिन्छ। भन्सार कार्यालयले प्लान्ट क्वारेन्टाइन कार्यालयको परीक्षण प्रमाणपत्रका आधारमा मात्र आयात स्वीकृति दिने व्यवस्था छ । तर क्वारेन्टाइन प्रमुख र अधिकृतको मिलेमतोमा उपभोगका लागि योग्य नभएका वस्तुहरू समेत निर्वाध रूपमा नेपाल भित्रिएको बताइन्छ ।
भारतीय तरकारी तथा फलफूलमा विषादीको मात्रा अत्यधिक हुने गरेको छ । तर क्वारेन्टाइन कार्यालयले आयातमा रोक लगाएको उदाहरण बिरलै छ । सार्वजनिक बिदाका दिनसमेत भारतीय मालवाहक सवारीसाधन क्वारेन्टाइन छुटपुर्जीको आधारमा नेपाल प्रवेश गरेको पाइनुले घटनालाई थप रहस्यमय बनाएको हो ।
गत मंसिर २७ गते शनिबारका दिन सुनौली नाकाबाट फलफूल र तरकारी बोकेका आधा दर्जनभन्दा बढी भारतीय ट्रक अघिल्लो दिनको जाँचपास देखाएर नेपाल भित्रिएका थिए । त्यस विषयमा सम्बन्धित विभागले स्पष्टीकरणसमेत सोधेको बताइन्छ । तर उक्त विषय यतिखेर गुपचुप छ ।
कानूनी व्यवस्थाअनुसार प्लान्ट क्वारेन्टाइन कार्यालयले आयात हुने फलफूल र तरकारीमा विषादी, रोग तथा किराको अवस्था जाँच गरी ‘क्लिन चिट’ दिएपछि मात्र भन्सार कार्यालयले प्रज्ञापनपत्र जारी गर्ने व्यवस्था छ । क्वारेन्टाइन जाँचबिना कृषि उपज आयात गर्न नपाइने स्पष्ट कानूनी प्रावधान छ।
तर आयातकर्तासँगको सेटिङमा परीक्षण नगरी आयात गर्न दिइने गरेको, ठूला व्यवसायीबाट मासिक रूपमा र साना व्यवसायीबाट पटके समझदारीमा ‘क्लिन चिट’ दिइने गरेको कर्मचारीहरु नै बताउँछन् । बिदाका दिन भन्सार परिसरमा सवारी रोकिँदा थप खर्च लाग्ने भएकाले ‘सहमति’ मा यस्तो कार्य हुने गरेको स्रोतको दाबी छ ।
यसबारे प्लान्ट क्वारेन्टाइन प्रमुख शहसराम चौधरीले परीक्षण गरेर मात्र आयात अनुमति दिने गरिएको बताए । शनिबार छुटपुर्जी नदिएको उनको जिकीर छ । तर मंसिर २७ गतेको घटनामा विभागले सोधेको स्पष्टीकरणबारे भने सोझो जवाफ दिएनन् ।
टिप्पणीहरू