कर्मचारीसङ्गको कुटाकुटमा हाकिम निलम्बित
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का सञ्चालक समिति सदस्य वीरबहादुर रावत (भोटे) ले कर्मचारीहरुमाथि हातपात गरेको विषयमा छानबिनका निम्ति कार्यदल गठन हुन नपाउँदै विवादित बनेको छ । समितिमा रावत पक्षका व्यक्तिलाई राख्न खोजिएपछि लफडा शुरु भएको हो ।
रावतको गत शुक्रबार सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारी मदनकुमार चन्द र पुष्पराज तिमिल्सेनासङ्ग झडप भएको थियो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यसमेत रहेका उनले सहकारीको कार्यक्रममा काठमाडौं ओहोरदोहोर गर्दाको प्लेन भाडा, ट्याक्सी तथा होटलको पैसा अन्य खर्चको रुपमा मिलाएर नदिएको भन्दै उनीहरुलाई अश्लिल गाली गर्दै कुटपिट गरेको आरोप छ ।
घटनापछि नेफ्स्कुनमा कार्यरत सम्पूर्ण कर्मचारीले आज प्रमुख कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै उनलाई नहटाएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । रावतलाई निलम्बन गरी घटनाबारे छानबिन गर्नुपर्ने नेफ्स्कुन साकोस म्यानेजर्स क्लबको पनि माग छ । कर्मचारीहरुको चर्को विरोधपछि आज नेफ्स्कुनले छानबिनको निर्णय गरेको हो ।
केही बेरअघि बसेको नेफ्स्कुन बैठकले सुशील बस्न्यातको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत डा.शिवजी सापकोटा र नवराज अर्याल सदस्य रहनेगरी कार्यदल गठन गरेकोमा सो कार्यदल पनि विवादमा तानिएको छ । कार्यदलमा राखिएका नवराज पनि नेकपामै आबद्ध रहेकोले निष्पक्ष छानबिन हुन नसक्ने भन्दै कर्मचारीहरुले आपत्ति जनाएका हुन् । कर्मचारीहरुको असहमतिपछि छानबिन कार्यदलबारे छलफल चलिरहेको छ ।


टिप्पणीहरू