सरकारविरुद्ध सडकमा ओर्लंदै किसान
स्वदेशी महकै लागि बजार अभाव भइरहँदा सरकारले विदेशी मह आयातको निर्णय गरेको भन्दै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले विरोध जनाएको छ ।
निर्वाचन प्रयोजनका लागि बनेको सरकारले देश र किसानको हितविरुद्ध एकपछि अर्को निर्णय गरेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै महासंघले आन्दोलनको चेतावनी दिएको हो । यो निर्णय किसानविरोधी मात्र नभई विदेशीको इशारामा मुलुकको माहुरीपालन क्षेत्रलाई नै तहसनहस बनाउने षड्यन्त्र भएको महासंघको ठहर छ ।
‘प्रष्ट रुपमा भ्रष्टाचारको गन्ध आउने, देशघाती र कुशासनको झल्को दिने यो निर्णय अविलम्ब फिर्ता लिई विदेशी महको आयात रोक्न र माहुरीपालक किसानहरुलाई तालिम, प्रशिक्षण, अनुदान दिँदै मह उद्योगहरुको आवश्यक अनुगमनसहित स्वदेशी मह उत्पादन क्षेत्रको प्रवर्द्धन कार्यक्रम अघि सार्न जोडदार माग गर्दछौं,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, धान–पराल भित्र्याउने र बेचबिखन गर्ने सिजनमा परालको ढुवानी पूर्णरुपमा बन्द गरिएको भन्दै महासंघले आक्रोश व्यक्त गरेको छ । ‘यो कार्य पहाड र काठमाडौं उपत्यकामा पराल ल्याउन नदिने, तराईमा परालको भाउ घटाएर भारत निर्यात गर्न मतियार गर्ने र स्वदेशी धान किसानलाई समेत निरुत्साहित गर्ने किसानविरोधी र जनघाती निर्णय हो,’ महासंघले भनेको छ ।
महासंघले किसानविरोधी र देशलाई दीर्घकालीन प्रभाव पर्ने राष्ट्रघाती निर्णय नगर्न अन्यथा देशभरका किसान सडक संघर्षमा उत्रिन बाध्य हुनेसमेत बताएको छ ।
टिप्पणीहरू