एमाले प्रतिनिधि छनोटमा थप गोलमाल

एमाले प्रतिनिधि छनोटमा थप गोलमाल

एमाले ११औं महाधिवेशनका लागि रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि छनोट प्रक्रियामा गोलमाल गरिएको आरोप लागेको छ । पाँच दिनअघि सिंहवार मन्दिर परिसरमा भएको भेलाले सर्वसम्मत रूपमा छ जनाको नाम पारित गरेको भनिएको थियो । तर उक्त सर्वसम्मत निर्णय उल्टाउँदै नाम हेरफेर गरिएको आरोप लागेको छ।

क्षेत्र नम्बर ३ मा सदस्य संख्याका आधारमा ६ प्रतिनिधि छनोट गर्नुपर्ने थियो,जसमा २ महिला अनिवार्य थिए। महिलातर्फ १० जनाले आकांक्षा राखेकाले नेताहरू दिनभर बसेर सर्वसम्मत सूची तयार पारे । 

भेलाले महिलातर्फ पम्फावती खनाल र कमला भण्डारी,पुरुषतर्फ राजेन्द्रप्रसाद पन्थी,नरबहादुर घर्ति,अयोध्या थारु र चक्रबहादुर थापालाई सर्वसम्मत प्रतिनिधि घोषित गर्यो । तर आकस्मिक रूपमा आफ्नो नाम फेरिएको जानकारी पाएपछि कमला भण्डारी आश्चर्यमा परिन्  । 

उनले भनिन्, ‘महिलातर्फका १० आकांक्षीमध्ये पम्फावती खनाल र मेरो नाम सर्वसम्मत भएको थियो । तर एक्कासी मेरो नाम हटाइयो । न जानकारी गराइयो,न सहमति नै लिइयो—यो बदमासी हो ।’

स्रोतका अनुसार प्रतिनिधि चयनपछि ‘कुन प्रतिनिधि कुन लाइन’ भन्ने छलफलमा भण्डारीले अध्यक्ष के.पी. शर्मा ओलीलाई मतदान नगर्ने संकेत देखाएपछि जिल्ला नेतृत्वले उनको नाम हटाएको आशंका छ । उनको स्थानमा ममता पौडेलको नाम राखिएको बताइन्छ ।

अन्य क्षेत्रमा पनि असन्तुष्टि

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ (छविलाल विश्वकर्मा) र क्षेत्र नम्बर २ ( विष्णु पौडेल)मा भने मतदानमार्फत प्रतिनिधि छानिएको छ । अन्य तीन क्षेत्रमा सर्वसम्मत पारित गरिए पनि पछि नाम फेरिँदा पार्टीभित्र निरंकुशता हावी भएको टिप्पणी नेताहरूले गरेका छन् ।

भण्डारीले सामाजिक सञ्जालमार्फत् सर्वसम्मत नाममा गरिएको फेरबदलकोे कडा भर्त्सना गरेकी छन् ।

टिप्पणीहरू