भारतीय थोत्रा सवारी साधनमा नेपालीको जोखिमपूर्ण यात्रा
फोटो स्राेत : सामाजिक सञ्जाल ।
प्रवासमा रहेका नेपालीलाई सहजता उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको नेपाल–भारत मैत्री बस सेवामाथि प्रश्न उठ्ने क्रम बढ्दो छ । यसमा बस व्यवसायी मात्र नभएर ट्राभल्स, दिल्लीमा रहेका नेपाली र केही भारतीय व्यापारीले समेत लगानी गरेका छन्। तर तोकिएको सुरक्षा मापदण्ड अपनाएको पाइँदैन । यसकारण एकातिर अपराध बढ्दै गएको छ भने अर्कोतिर दुर्घटनाको जोखिम पनि बढ्दो छ।
अस्ति राति भारतको उत्तरप्रदेशस्थित बलरामपुरको फूलबरिया बाइपासमा भएको दुर्घटनाले फेरि सबैलाई झस्काएको छ। भैरहवा–बेलहिया नाकास्थित सुनौलीबाट ४५ जना नेपाली यात्रु बोकेको युपी २२ एटी ०२४५ नम्बरको भारतीय बस दुर्घटना हुँदा तीनजना नेपालीको घटनास्थलमै प्राण गएको छ। आधा दर्जन गम्भीर र अन्य धेरैजना घाइते छन् ।
दुर्घटनाको ३० घन्टासम्म पनि मृतकहरुको सनाखत हुन सकेको छैन। यसबाट दिल्ली ओहोरदोहोर गर्ने बसहरूमा अपनाइएको सुरक्षा कत्तिको कमजोर छ भन्ने प्रमाणित हुन्छ ।
भारतीय प्रहरीले घाइतेको नाम सार्वजनिक गरे पनि मृतकको विवरण उपलब्ध गराउन सकेको छैन । उता बुटवलको शुभसाइत ट्राभल्ससँग समेत यात्रुको नाम–ठेगाना नभएको बताइन्छ । यो घटनाले नेपालका विभिन्न स्थानबाट दिल्ली जाने बसमा उच्च जोखिम रहेको पुष्टि गर्छ।
घाइते यात्रुहरूकाअनुसार, सीमानामा बस स्टार्ट नभएर धकेलेर चलाइएको थियो। उनीहरूका अनुसार बुटवलबाट नेपाली नम्बर प्लेटको गाडीमा बेलहिया–दशगजा पुगेर, त्यहाँबाट पैदल हिँडाएर भारतीय नम्बर प्लेटको बसमा चढाइएको थियो। बुटवलदेखि २५ किलोमिटर दूरीमा रहेको बेलहियासम्म पुग्दा बाटोमै ट्राफिक प्रहरीले एकपटक पनि चेकजाँच नगरेको बुझिएको छ ।
अरु बेला विभिन्न स्थानमा चेकजाँच गर्ने ट्राफिक प्रहरीले दिल्ली जाँद गरेको बसलाई बुटवल–बेलहिया सडकखण्डमा त्यतिकै छाड्नुलाई पनि शंकाको दृष्टिकोणले हेरिएको छ । शुभसाइत ट्राभल्सका सञ्चालक रामचन्द्र खड्का पश्चिम नेपाल बस व्यवसायी समितिका सदस्य पनि हुन्। समितिका पदाधिकारीसँग ट्राफिक प्रहरीको नजिक सम्बन्ध हुने गरेको, त्यसमा दिल्ली बस सञ्चालन गर्ने भएपछि ट्राफिकले कसरी चेक नगर्नेे यात्रुको भनाइ छ ।
रुपन्देहीमा गत असोज २८ देखि ट्राफिक प्रमुखको रूपमा प्रतिमा कार्की छन् । महिलाले कम भ्रष्टाचार गर्छन् भन्ने मान्यतासहित उनबाट सुधारको अपेक्षा गरिएको छ । तर पछिल्लो समय भारतीय नम्बर प्लेटका बसहरूको चलखेल बढेपछि धेरैले धेरैथरी अड्कल लगाएका हुन् ।
विगतमा बजिरसिंह विष्ट ट्राफिक प्रमुख हुँदा तुलनात्मक रुपमा नियन्त्रणमा रहेको बेलहिया, लुम्बिनी रोड, ककर्हवा क्षेत्रमा अहिले लाइनै लागेर बसले नेपाली यात्रु चढाउने गरेको पाइन्छ । रुपन्देही ट्राफिक प्रहरी विगतदेखि नै तीनकुने, रोहिणी पुलपारी, बेथरी पुल, बसन्तपुर चौक, मधवलिया चौक, अञ्चलपुर चौक जस्ता ठाउँमा बढी व्यस्त हुने गरेको छ। सोही कारण ट्राफिक प्रहरीका जवानहरू तीनकुने जान किन ‘मरिहत्ते’ गर्छन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ। विगतमा सोही ठाउँमा पैसा उठाउँदै गर्दा तीन जना प्रहरीलाई रंगेहात पक्रेर निलम्बन गरिएको थियो।
भारत प्रवासमा रहेका २५ लाखभन्दा बढी नेपालीका लागि बस सेवा उपयोगी हुने अपेक्षा गरिएको छ । तर अहिले उक्त सेवामा बदमासी, दलाली, ट्राफिक मिलेमतो बढेकाले यसको भविष्यमाथि प्रश्न चिन्ह उठेको हो ।
बसमा ‘फल्स बटन’ बनाएर दिल्लीबाट कपडा र अन्य सामग्री बिना भन्सार ल्याउने क्रम बढेको छ । यसबाट राजस्व गस्ती र काठमाडौंको नागढुङ्गामा पटक–पटक त्यस्ता घटना दोहोरिने गरेको छ ।
गत वर्ष अर्घाखाँचीबाट दिल्ली गएको ना. ५ ख ९१२३ नम्बरको बस कुन नाकाबाट भारत छिर्यो भन्ने ट्राफिक प्रहरीले पुष्टि गर्न नसकेको चर्चित घटना अहिले पनि ताजै छ । अहिले पनि यस्ता घटना दोहोरिरहेका छन्, तर ट्राफिक प्रहरी अनभिज्ञ देखिन्छ ।
लुम्बिनी प्रदेशभर एक एसपी, एक डिएसपी, सात निरीक्षकसहित ५६२ ट्राफिक प्रहरी खटिएका छन् । तर भारतीय नम्बर प्लेटका बसहरूले सहजै दिल्ली यात्रु ओसारिरहेका छन्।
भारतको बलरामपुरमा भएको अस्तिको दुर्घटनामा बस र मालबाहक ट्रक तीव्र गतिमा एकआपसमा ठोक्किँदा नजिकैको हाई–टेन्सन लाइनमा ठोक्किएर बसमा आगलागी भएको भारतीय प्रहरीले जनाएको छ। बसका यात्रुहरूले बुटवलको शुभसाइत ट्राभल्समार्फत् टिकट लिएका थिए।
घाइतेमध्ये गुल्मी, कावासोती, बुटवल, तम्घास, स्याङ्जा, मोरङ, नवलपरासीका नागरिक छन्। गम्भीर घाइतेहरू बलरामपुर, लखनऊ र बहराइच मेडिकल कलेजमा उपचाररत छन्।
भारत–नेपाल मैत्री बस सेवा २०७५ सालमा प्रधानमन्त्री नरेन्द्र मोदी र केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए। अहिले काठमाडौँ, जनकपुर, बुटवल, नेपालगन्ज, अर्घाखाची, पोखरा, महेन्द्रनगरलगायत स्थानबाट दैनिक बस सञ्चालन हुँदै आए पनि अव्यवस्था, मनपरी, दलाली र ट्राफिकको मिलेमतोका कारण सेवा प्रश्नमा परेको छ।
सीमावर्ती नाकामा भारतीय नम्बर प्लेटका बसहरूले यात्रुलाई खुला रूपमा चढाउने–ओसार्ने गरेका छन्। तर ट्राफिक प्रहरीले नदेखेझैँ व्यवहार गर्दा नेपाली बस व्यवसायीको करोडौँ लगानी जोखिममा परेको बताइन्छ ।
टिप्पणीहरू