राष्ट्रपति कार्यालयमा छानबिन टोली रोकिँदा...

राष्ट्रपति कार्यालयमा छानबिन टोली रोकिँदा...

भाद्र २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगको टोली आइतबार क्षतिग्रस्त राष्ट्रपति भवनको स्थलगत निरीक्षण गर्न जाँदा सैनिक टोलीले शुरुमै रोक लगाएको बुझिएको छ । मुख्यद्वारमा रोकेर सैनिकले सोधपुछ र माथिल्लो तहबाट आदेश लिएपछि मात्रै शीतलनिवास छिर्न दिएका थिए । आयोगका कर्मचारीले अहिले हामीलाई यसरी रोकेजस्तै जेनजीका नाममा विध्वंश मच्चाउनेहरूलाई त्यो दिन पनि रोकेको भए कस्तो राम्रो हुन्थ्यो भन्दै व्यंग्य हानेका थिए । निरीक्षणका क्रममा शीतलनिवासको भग्नावशेष देखेपछि जो कोही एकपटक स्तब्ध हुन सक्ने अनुभूति लिएर टोली सिंहदरबार फर्केको बुझिएको छ । यस्तो विध्वंश देखेपछि कुनचाहिँ विदेशी नेपालमा लगानी गर्न आउला ? टोलीमा सहभागी श्रोतको प्रश्न छ । 

अबको केही दिनभित्रै आयोगले जेनजी प्रदर्शन दमन हुँदा निर्णायक तहमा रहेका पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्ण दवाडीहरूलाई वयानका लागि बोलाउने तयारी भइरहेको छ । यसअघि नेताहरूलाई विभिन्न अभियोग लाग्दा घरैमा गई बयान कागज बनाउने अभ्याससमेत थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भने यही प्रयोजनका लागि नेताको घरमा नजाने, बरु आयोगमै बोलाउने सोच बनाएको स्रोतको दावी छ ।

त्यतिबेला काठमाडौंमा तैनाथ भएभरका सुरक्षाकर्मीलाई तानेर सोधपुछ गर्ने हो भने एक–डेढ वर्ष लाग्ने अवस्था छ । यसैकारण अब जिम्मेवार पदमा बसेकाहरूलाई मात्रै बोलाइनेछ । त्यसो त जेनजीको आवरणमा विध्वंश मच्चाउँदै हिँडेकाहरूलाई आयोगमा प्राप्त सिसिटिभी फुटेजको आधारमा पहिचान गर्न पनि थालिएको बताइन्छ । आयोगले त्यस्ता अगुवालाई समेत कारवाहीको सिफारिस गर्ने सम्भावना अत्यधिक छ । आयोगले देशैभर स्थलगत निरीक्षण भ्रमण गर्दै क्षतिको विवरण सङ्कलन गरेको र विध्वंशकारीहरूविरुद्ध उजुरी दिन सर्वसाधारणलाई भनेको छ । 

यसबीच आयोग गठन हुनासाथ सशस्त्र र नेपाल प्रहरीका आईजीपीहरूको राहदानी रोक्का गर्ने कुरा उठेको तर त्यसलाई अस्वीकार गरिएको बुझिएको छ । त्यसो गर्दा फौजको मनोबल गिर्न सक्छ भन्ने कल्पना गरिएको थियो । त्यसबेला पाँच जनाको ठाउँमा दुवै आईजीपीसहित सात जनाको पासपोर्ट रोक्का गरेको भए पनि प्रश्न उठाउने कोही हुन्थेनन् । अहिले आएर भदौ २७ गतेदेखि निवृत्त भएका आइजीपी चन्द्रकुबेर खापुङलाई स्थान हद तोक्ने काम भएको छ । तत्कालीन गुप्तचर प्रमुख हुतराज थापा निवृत्त भएपछि उनको पनि पासपोर्ट रोक्का गरिएको थियो । भाद्र २३ र २४ गते आन्दोलन भएको ५ दिन नबित्दै थापा घर गएका थिए । जेनजी प्रदर्शनका क्रममा प्रहरीको हातहतियार लुटिएका छन्, यस्तो विषयमा आफ्नै पनि कमजोरीबारे कुनै सोधपुछ नगर्दा छानबिन अधुरो हुने र जिम्मेवार व्यक्ति बीचमा विदेश गए झनै अप्ठ्यारोमा पर्ने भएकाले निवर्तमान आईजीपीलाई स्थान हदको बन्देज लगाएको श्रोत बताउँछ ।

०६२/०६३ सालको जनआन्दोलनपछि सेनाबाहेक सबै सुरक्षा प्रमुख र उपप्रमुखको जागिर गएको थियो । डिएसपी, एसपीहरू जो उपत्यकामा पछिल्लो आन्दोलनताका खटिएका थिए, तिनलाई बाहिर सरुवा गर्दा सोधपुछका लागि आउने जाने गर्नुपर्ने भएकाले तत्कालका लागि सरुवा नगर्न पनि आयोगले आदेश दिएको छ । 

(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू