अख्तियार प्रमुखलाई मार्ने धम्की, को हुन् योजनाकार ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई एउटा उग्रवादी समूहले हत्याको धम्की दिएको छ । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईजिएन)’ नामक समूहले राईलाई १० दिनको अल्टिमेटम दिँदै हत्याको धम्की दिएको हो ।
सो समूहले आयोगको आधिकारिक इमेलमा एउटा पत्र पठाउँदै १० जनाको हत्या गर्ने योजना बनाएको र त्यसमा राईको नाम पनि समावेश रहेको जनाएको छ । ‘हामीले १० जनाको हत्या गर्ने निर्णय गरेका छौँ, त्यसमा तपाईंको नाम पनि छ’, उग्रवादी समूहले पठाएको पत्रमा भनिएको छ, ‘१० दिनभित्र राजीनामा दिनुहोला,यदि दिनुभएन भने यसबीचमा आफ्नो अन्तिम इच्छा पुरा गर्न सक्नुहुन्छ ।’
आतंकवादी गतिविधिको झल्को दिनेगरी तयार पारिएको उक्त पत्रमा हत्याको लागि भदौ २४ गते विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई परिचालन गरिनेसमेत बताइएको छ । आफूलाई संगठन प्रमुख बताउने प्रकाश पाठकद्वारा हस्ताक्षरित पत्रमा अघि भनिएको छ, ‘यो काम हामीले गर्दैनौँ, भागेका कैदीहरुले गर्नेछन्,उनीहरुलाई हामी आर्थिक सहायता गर्नेछौँ, घटनाको जिम्मेवारी भने हामी नै लिनेछौँ ।’
यसरी मुलुकको एउटा संवैधानिक आयोग प्रमुख आयुक्तलाई हत्याकाे धम्की दिने को होला ? सुरक्षा खतराकाे विश्लेषण भइरहँदा प्रहरी संगठनको अनुसन्धान भने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि सोझिएको छ । प्रमुख आयुक्त राईलाई हत्याको धम्कीसहित पत्र लेख्ने समूहको पहिचान भइसकेको र त्यसको पछाडि क्यानका महानिर्देशक अधिकारीको हात रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे । ‘हत्याको धम्की दिनेहरुको पहिचान भइसकेको छ,उनीहरुको लोकेशन ट्रयाक गर्दैछौँ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘यो सबै काम उनैले (अधिकारी)ले गराएजस्तो देखिन्छ,पुष्टि गर्ने काम भइरहेको छ ।’
महानिर्देशक अधिकारीमाथि यसअघि पनि जेनजी युवालाई उचालेर आफ्नो प्रतिकूलका व्यक्तिलाई धम्क्याउन लगाएको आरोप लागेको थियो ।
टिप्पणीहरू