सिंहदरबार जल्दा बिर्सिएको बुनियाँ
आँगनकै सिंहदरबार र सर्वोच्च अदालत अनि आफ्नै परमाधिपतिको कार्यालय शीतलनिवास जोगाउन नसकेको नेपाली सेनाले गरेको तर्क कतैबाट पनि नमिल्ने तथ्य एकपछि अर्को खुल्दैछन् । जेनजी आन्दोलनका क्रममा यी संरचना बचाउन खोजेको भए रक्तपात हुन्थ्यो भन्ने भाष्य बनाएर सेनाले आफूलाई रक्षात्मक बनाउन खोजेको छ । केही प्रभावशाली जर्नेलहरू भने सेनाले भदौ २४ गते गम्भीर भूल गरेको बताउँछन् ।
‘मलाई पाँच जना दिएको भए रोक्दिन्थेँ किनकि मलाई नेपाली जनताको मनस्थिति थाहा छ,’ ती वरिष्ठ अधिकारी भन्छन्, ‘डिल्लीबजारका कैदीलाई रोकेको सेनाले नै होइन र ? आन्दोलनकारी जंगी अड्डामा आगो लगाउन गएको भए सेनाले नरसंहार हुन्छ भनेर छोडिदिन्थ्यो ?’
जङ्गी अड्डा जोगाउन गोली चलाउन पनि तयार हुने, सिंहदरबार, शीतलनिवास र सर्वोच्च जोगाउन भूमिका नखेल्ने नेतृत्व सबैभन्दा दोषी रहेको स्रोत बताउँछ । ‘राज्यले त्यत्रो लगानी गरेको, भरोशा भएको ठूलो सुरक्षा संयन्त्र नरसंहार हुन्छ भनेर पन्छिने ? आर्मी ब्यारेकमा बस्ने, सिंहदरबार र आफ्नै परमाधिपतिका कार्यालय जलिरहने यो कस्तो सेना हो ? उही स्रोतले भन्यो, ‘केपी ओलीमाथि दबाब नै बढाउने भए २३ गते राति नै किन एक्सन नलिएको ? २४ गते देश नै जलेपछि उनलाई हटाएँ भनेर हुन्छ ?’ जसरी दरबार हत्याकाण्ड युवराज दीपेन्द्रले गर्यो, राजा वीरेन्द्रको परिवारलाई छोराले मार्यो भन्ने कुरा अझै पनि जनताले पत्याउँदैनन् । त्यसैगरी सेना उत्रेको भए नरसंहार हुन्थ्यो भन्ने कुरा पत्याउने खालको नभएको कतिपयको भनाइ छ ।
जंगी अड्डामा आगो लगाउन गएको भए सेनाले नरसंहार हुन्छ भनेर छोडिदिन्थ्यो ?’
राजा ल्याउने र सेनाले टेकओभर गर्ने कुनै तयारी नभएको पनि स्रोत बताउँछ । ‘यी सबै हाँसो उठ्दो भाष्य हुन् । माओवादीले सैनिक ‘कू’लाई रोकेको भनेर हल्ला गर्नेहरु पनि छन् । माओवादीबाट समायोजित यम अधिकारी र केही बाँकी छन् । लाखको सेनामा केही सयको संख्याले ‘कू’ रोकिने हो र ? नभएको कुरामा माओवादीले आफूलाई ठूलो बनाउन खोजेको मात्रै हो,’ स्रोतले भन्यो, ‘त्यत्रो अवसर किन लिन नखोजेको त भनेर सोधेको थिएँ । तर उहाँहरूले यस्तो कमजोर आर्थिक स्थिति र भूराजनीतिले टेकओभर गर्न दिन्छ र टिकिन्छ भनेर कसले पत्याउँछ भन्दै प्रहरीको उच्च नेतृत्वले उल्टै प्रश्न गरेको छ ।’
दुई दिनमा दललाई घुँडा टेकाउने वा देश नै जलेर खरानी हुने स्थितिबाहेक केही घण्टासम्म चलेकै उपद्रोमा सेनाले टेकओभर गर्ने सुरसारै नभएको स्रोतको भनाइ छ । ‘कि जलेर देशै नहुने अवस्था आएको भए बेग्लै कुरा । स्थिति नियन्त्रणमा लिए छिमेकीले जे भन्यो त्यही मान्नुपर्ने अवस्था हाम्रो छ । नभए घुँडा टेकाइदिन्छ अनि भोलि गएर मुसर्रफ जस्तै सेनापति जेल बस्न तयार हुने हो र ?
धरातलीय यथार्थ नबुझेको निश्कर्ष
पोहोर केपी ओली न्युयोर्क पुग्दा स्टेजमा हुल बाँधेर जान दिइएन । स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई कतार जाँदा त्यस्तै हुटिङ भइरहेको थियो । रङ्गशालामा जाँदा होस् कि कुनै कार्यक्रममा पुग्दा नै किन नहोस् नागरिक तहबाट नेतामाथि आक्रोश थियो । तर समयमै नेताहरूले बुझेर नेतृत्व हस्तान्तरणमा नजाँदा यो तहको जनआक्रोश आएको हो । ‘गुण्डुका महेश बस्नेतको घेराबन्दीमा हिँड्ने, आई लभ युमा दङ्ग पर्ने अनि मुलुकले नै मलाई सर्वेसर्वा ठान्छ भन्ने भ्रममा पर्ने स्थितिले सबै कुरा बिग्रिएको,’ स्रोतले भन्यो, ‘धरातलीय यथार्थ नै बुझेको छैन । समयमै अरुका नेतालाई अवसर दिने र आफू विस्तारै साइड लाग्ने अभ्यास गरेको भए यस्तो हुन्थेन । सामाजिक सञ्जाल बन्द गर्दा झन् बढी आक्रोश बढ्यो ।’
हरेक ठूला घटनापछि सेनाले टिम पठाएर फिल्डको रिपोर्ट तयार पारी तालिमको पाठ्यक्रममा हाल्ने अभ्यास छ । माओवादी जनयुद्धताका खारा युद्धपछि यस्तै गरेको थियो । यही सिलसिलामा संठनपति माधव थापा फिल्ड निरीक्षणमा गएका छन् । आर्मी ल्याङ्ग्वेजमा लेसन लर्न भनिन्छ । भएका कमजोरी स्वीकार्नुपर्ने हो । यसमा सुधार गर्नुपर्ने कुरा के छन् भनेर त्यसमा लेख्ने हो । तर सेनापति अशोकराज सिंग्देलले सेना उत्रेको भए नरसंहार हुन्थ्यो भनेर एउटा प्रि माइण्डसेट पहिल्यै गरिसकेका छन् । यसैले माधवले दिने रिपोर्ट कस्तो होला भनेर अनुमान लगाउन सकिन्छ ।
‘हतियार तेस्र्याउँदा अब हान्छ क्यारे भन्ने त्रासको वातावरण बनाउनुपर्छ । कङ्गोको बुनियाँ भन्ने ठाउँमा युएन ट्रुप्स डिप्लोइ हुनुभन्दा पहिला फ्रेञ्चहरूले त्यस्तै गरेका थिए,’ आर्मी स्रोतले भन्यो, ‘विद्रोहीले उरुग्वेको सेना लखेटेको थियो । यो हेर्नै नसकेपछि फ्रेन्चहरू आए । फायर गरेर अगाडि पोस्चर्स पनि देखाए, फरक भावभंगिमा देखाउनेबित्तिकै सुरुमा एक दुई जनालाई हान्ने, हवाइ फायर गर्ने, एक दुई जना हताहत हुनेबित्तिकै भागाभाग हुँदा अवस्था नियन्त्रणमा आउने रहेछ ।’
विदेशका त्यस्ता अभ्यासबाट नसिक्दा भदौ २४ का जस्ता घटना दोहोरिइरहन सक्ने स्रोत बताउँछ । कंगोको बुनियाँमा अरू युद्ध गर्न छोडेर भागिरहँदा फ्रेञ्च कमाण्डरले रणनीतिक कौशलता देखाएर गरेको कारवाही विश्वभरका लागि उदाहरण हो । यो शैलीलाई जिरो एरर सिण्ड्रोम भनेर भारतीयले पनि अभ्यास गर्ने गरेको स्रोत बताउँछ । गाल पर्छ भन्ने भएपछि उत्तरदायी बन्न नखोज्ने समस्याले सैनिक नेतृत्व ग्रस्त देखिन्छ ।
(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू