फेरि चर्चामा आउनसक्छ गोकुल र महेशका काण्ड

फेरि चर्चामा आउनसक्छ गोकुल र महेशका काण्ड

नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा पदाधिकारीको लागि नेताहरुबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मंसिर २७, २८ र २९ गते हुन लागेको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्ने सम्भावित परिदृश्य देखिएपछि अन्य नेता पनि पदाधिकारीको लागि तयारीमा जुटेका हुन् । 

यसैबीच पोलिटब्युरो सदस्यद्वय गोकुल बाँस्कोटा र महेश बस्नेतबीच सचिवको लागि प्रतिस्पर्धा हुने जानकार स्रोतको विश्लेषण छ । दुवै नेताले आन्तरिक तयारीसमेत थालिसकेको बुझिएको छ । 

पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले निकटस्थहरुलाई सचिवको उम्मेद्वार बन्नेबारे जानकारी गराइसकेका छन् । हालैको एक अनौपचारिक छलफलमा बस्नेतलाई हराउन ‘केही गाह्रो छैन’ भन्दै ‘कन्फिडेन्स’ देखाएका थिए । ‘त्यो गुण्डुको एउटा मामुली गुण्डा न हो, के गाह्रो छ र !’, बाँस्कोटाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । 

त्यतिबेला बाँस्कोटाले बस्नेतलाई ‘नैतिकहीन’ र ‘चरित्रहीन’ समेत भनेको बताइन्छ । ‘त्यस्तासँग सचिव लड्नुपर्ने ,मैले पनि भाग्य त लिएकै हुँ’, उनको व्यंग थियो । 

उता बस्नेतले पनि सचिवमा लड्ने लगभग पक्का भइसकेको बताइएको छ । पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा संयोजक मानिएका उनलाई सचिवमा लड्न सहज हुने कतिपयको अनुमान छ । तर बाँस्कोटाले पनि सचिवको अडान छाड्ने संकेत नदेखाएको भन्दै स्रोतले थप्यो, ‘१३ गते महाधिवेशन प्रतिनिधिको नाम फाइनल हुन्छ, त्यसपछि उनीहरु कसरी एकअर्काविरुद्ध उत्रिन्छन्, हेर्दै जानुहोला ! केटी काण्ड र ७० करोड काण्डले फेरि हाइप पाउनेवाला छ ।’
 

टिप्पणीहरू