नेपालीले युएइबाट सोझै रकम पठाउन सक्ने

नेपालीले युएइबाट सोझै रकम पठाउन सक्ने

अब संयुक्त अरब इमिरेट्स (दुबई) मा रहेका नेपालीले जोयालुक्कास एक्सचेन्जमार्फत नेपालमा सिधै रकम पठाउन मिल्ने भएको छ । त्यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकसँगै नेपालभरि रहेका बैंकमार्फत लिन सकिने भएको हो । 

दुबईमा रहेका नेपाली श्रमिकलाई रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ माछापुच्छ्रे बैंकले हालै जोयालुक्कास एक्सचेन्जसँग सम्झौता गरेको जनाएको छ । समझदारी पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र एक्सचेन्जका महाप्रबन्धक मरिशकुमार कर्णले हस्ताक्षर गरेका छन् । 

सम्झौतासँगै अब दुबईमा रहेको नेपालीले जोयालुक्कासका ३० बढी शाखाबाट एमबिएल रेमिट गरी माछापुच्छ्रे बैंकमा रकम पठाउन सक्छन् । यसरी पठाइएको रकम माछापुच्छ्रेका एक सय ६५ शाखा, शाखारहित बैंकिङ्ग सेपा, ११ एक्सटेन्सन काउण्टर वा २० हजारबढी रेमिट्यान्स एजेन्टमार्फत भुक्तानी लिन सकिने बैंकले जनाएको छ । 

जोयालुक्कासबाट एमबिएल रेमिट गरी पठाइएको रेमिट्यान्स माछापुच्छ्रेसँगै नेपालका जुनसुकै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्थासमेत गरेको बैंकको भनाइ छ । माछापुच्छ्रे बैंकले स्थापनाकालदेखि नै नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ पस्किँदै आएको छ ।

टिप्पणीहरू