सहकारीको मुख्य थलोमा मनपरी
देशको अर्थतन्त्रलाई नै अन्तर्राष्ट्रिय क्षेत्रसम्म बेइज्जतीको धब्बा लगाउने सहकारी ठगीका अभियुक्तहरू फेरि आफू नै असली नेता हो भन्दै चुनावी दौडधुपमा उत्रिएका छन् ।
चालु वर्षको पुस मसान्तसम्म नेतृत्व हस्तान्तरण गर्नुपर्ने राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनको साधारणसभाका लागि पार्टीका नेताहरूसँग अनेकौं भेटघाट भइरहेका छन् । राष्ट्रिय सहकारी बैंकले यही मंसिर ६ गतेलाई साधारणसभाको कार्यक्रम राखेको छ भने त्यसले विनियम स्वीकृत गरेपछि पुसमा निर्वाचन हुनेछ ।
सहकारी बैंकको कर्जा दुरूपयोग गरेको लगायत कसुरमा निवर्तमान अध्यक्ष केबी उप्रेती अहिले पनि कारागारमै छन् । उनीलगायत सञ्चालकहरूले मिलेमतोमार्फत बैंकलाई यो अवस्थामा ल्याएको निश्कर्षसहित राष्ट्रबैंकले सबैलाई बर्खास्त गर्दै महेन्द्र गिरीलाई अध्यक्ष बनाएको थियो ।
नेफ्स्कुनको अध्यक्ष चन्द्र ढकाललाई लिएर कांग्रेसका नेताहरूसँग बसेका सहकारी नेताहरूले गभर्नर विश्व पौडेललाई दबाब दिने लाइन बनाएका छन् । अघिल्लो सञ्चालक समितिमा रहेकाहरूलाई बर्खास्त गरेका कारण उनीहरूले यो साधारणसभाबाट नेतृत्व गर्न नरोकिने व्यवस्था गरिदिन दबाब बढाइएको स्रोतको दावी छ । बर्खास्तीमा परेका एमाले निकट नेताहरू रामहरि बजगाईं, विजया धिताल, ध्रुवराज बिष्ट छन् । बजगाईं र बिष्ट उप्रेतीको कोर टिमका सञ्चालक हुन् ।
बिष्ट नेकपा एकीकृत समाजवादीमा हुँदा पनि उप्रेतीकै जोडबलमा नवराज अर्याललगायतका नाम पन्छाएर उनलाई सञ्चालक बनाइएको थियो । बिष्ट अहिले एमालेमा फर्किइसकेका छन् । यस्तै बजगाईंलाई दुई कार्यकाल उप्रेतीले माओवादीको कोटाबाट सञ्चालक बनाएका थिए । उनी पनि अहिले एमालेको प्रदेश तहका नेता हुन् ।
आफू अध्यक्ष हुने दाउमा नेफ्स्कुनका पूर्व अध्यक्ष परितोष पौडेल लागेका छन् । उनी विश्व पौडेललाई भेटेर बर्खास्तीमा परेकालाई रोक्न लागिरहेका छन् भने पार्टीभित्रबाट सञ्चालक भएकाहरूका कारण सहकारी क्षेत्र बदनाम भएकाले कोही पनि नजाने र त्यसका लागि आफू उपयुक्त भएको उनको तर्क छ । नेफ्स्कुनमा आफूले राम्रो गरेको र विगतमा सधैं एमालेलाई बोकेकाले यसपटक आफूहरूको पालो भन्दै चन्द्र ढकाल पनि भिड्दै छन् । ढकालले नपाए कांग्रेसबाट बिकु सहकारीका केशवप्रसाद सापकोटा सर्न सक्छन् ।
(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू