तोसिमा र स्वर्णिमको पनि निस्कने तयारी

तोसिमा र स्वर्णिमको पनि निस्कने तयारी

वैकल्पिक राजनीतिको सेन्टर बन्ने भनी तीन बर्षअघि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकपछि अर्को पहिरोको चपेटामा परेको छ । परम्परागत ठूला पार्टीको विकल्प दिने भन्दै रवि लामिछानेको नेतृत्वमा २०७९ असार ७ गते रास्वपा बनेको थियो । 

२०८२ कात्तिकसम्म आइपुग्दा नेताहरूले एकपछि अर्को गर्दै पार्टी छाड्न थालेका छन् । पहिलो महाधिवेशनसमेत नहुँदै संस्थापक नेताहरूले नै रविको साथ छाड्न थालेका छन् । पछिल्लो समय सभापतिले जेलबाटै पार्टी चलाउन खोजेको भन्दै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले भदौ २३ र २४ को जेनजी आन्दोलनलगत्तै रास्वपा छाडिन् । लगत्तै केन्द्रीय सदस्य डा.प्रभात अधिकारी र हरि भट्टले राजीनामा दिए । 

पार्टी छाड्ने लर्कोमा प्रतिनिधिसभाको प्रमुख सचेतक रहेका सन्तोष परियार पनि छन् । उनले कात्तिक २८ गते रास्वपा छाडे । पार्टी छाड्नेको लहरमा रास्वपाका संस्थापक केन्द्रीय सदस्य गीता रेग्मी र महेश्वर घिमिरे यसअघि नै मिसिएका हुन् । केही समयअघि निर्वाचन आयोग प्रमुखको जिम्मेवारीमा रहेका डा.अतिन्द्र दाहाल र पूर्वअनुशासन आयोग प्रमुख डा.भरतमणि देवकोटाले पनि पलायनको बाटो रोजिसकेका छन् । रास्वपाको घरबेटीसमेत रहेका देवकोटाले लामिछानेसँगको घरबहाल विवादका साथै जेनजी आन्दोलपछि घर असुरक्षित रहेको बताउँदै आएका थिए । 

पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउनुपर्ने भन्दै वक्तव्य निकालेका कोशी प्रदेश सभापति राजेश तिमिल्सिनाले पनि पार्टी छाडिसकेका छन् । कारबाहीको तयारी भएपछि उनी आफैंले ‘रास्ता क्लियर’ गरिदिएका थिए । २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट उठेका रमेश खरेल पनि अहिले रास्वपामा छैनन् । प्रशिक्षण विभाग प्रमुख रहेका अनिलकेशरी शाह निष्क्रिय भइसके । केन्द्रीय सदस्य गणेश कार्कीमा पनि चरम असन्तुष्टी देखिँदै आएको छ । ठीक यही समय केन्द्रीय सदस्य रहेकी डा.तोसिमा कार्कीले पनि असन्तुष्टि पोख्दै पुनर्गठनको मुद्दा उछालेकी छन् । विस्तारित बैठकमा लिखित असहमति नै दर्ज गरिन् । 

उनले भनेकी छन्, ‘घमण्ड र दबाबले पार्टी चलाउने भए त ओली नै थिए नि, आफू र आफ्नो पार्टी सुधार्न उदार हुन नसक्ने, रिफर्मको एजेण्डालाई प्रतिगमनकारी भन्नेले देश के बनाउलान् र खोई ? हेक्का रहोस्, बेलैमा नसुध्रिए, सबै अट्ने सबै खट्ने गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्ति पार्टीले गुमाउँदै छ ।’

तोसिमासँगै उपाध्यक्ष डा.स्वर्णिम वाग्ले पनि चुनावअघि कांग्रेसमै फर्किने चर्चा महामन्त्री गगन थापा निकटहरूमा चलेको छ । ‘रास्वपाका होनहारहरूले पार्टी छाड्दै गएपछि स्वर्णिम पनि त्यहाँ धेरै नरहलान् । शेखर कोइराला र गगन थापाको प्रस्ताव कुरेको देखिन्छ,’ गगननिकट एक कांग्रेसी नेताको दावी छ, ‘शेरबहादुर देउवा र आरजुप्रति रिसाएर उहाँ रास्वपामा जानुभएको हो । जेनजी आन्दोलनपछिको परिवर्तित अवस्थामा देउवा–आरजुको भूमिका यसै पनि गौण छ । मूल घरमा फर्कन वाग्लेलाई यतिबेला सहज वातावरण छ । हावा पनि चलेको छ ।’ 

(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू