दल बढे ह्वारह्वारी, मतदाता कम
निर्वाचन आयोगले दर्ता भएका दलहरूलाई चिन्छ तर जेनजी पुस्ता भनेर चिन्दैन । उनीहरू जेनजी नाम राखेर दर्ता भए बल्ल दलकै रूपमा चिनिने हो । जेनजी अगुवा भनेर चिनिएका मिराज ढुंगानाले दल दर्ता गर्ने तर चुनावमा भाग नलिने भनिरहेका छन् । दल दर्ता गर्ने, चुनावमा भाग नलिने, त्यसको के अर्थ छ र ? अर्की जेनजी अगुवा रक्षा बमको पनि कुरा त्यस्तै छ ।
आन्दोलनको रापतापबाट केही अगुवा सतहमा देखापरेका छन् । नयाँ भनिएका समूह वा दलहरू पनि पुरानै निर्वाचन ऐन, कानुन र प्रणालीअन्तर्गत आउँदा के तिनीहरू साँच्चै नयाँ रहन्छन् ? तर्क, बहस, मुद्दाका आधारमा जेनजीहरू पनि कुहिराका काग भए । यही निर्वाचन ऐन, यही कानुन, यही संविधान, यही निर्वाचन प्रणालीले आखिर ल्याउने फेरि पुरानै दलहरुलाई होइन र ! किनकी भदौ २३ र २४ गतेको आन्दोलनपछि जेनजीको नाममा बनेको माहोल क्रमशः कमजोर बन्दै गएको छ । बरु उल्टै जेनजीसेन्जी केही होइनन् भन्ने परिरहेको छ ।
ठूलो परिवर्तनको अपेक्षासहित जेनजीकै लागि मतदाता नामावली खुला गरिए पनि त्यसमा नाम लेखाउनेको संख्या उत्साहप्रद नभएको स्रोत बताउँछ । २०७९ र अब हुने निर्वाचनलाई हेर्दा मतदाता बढ्ने ट्रेण्ड (प्रवृत्ति) धेरै आशालाग्दो छैन । ‘पहिला पाँच वर्षमा एकचोटी नामावली सङ्कलन हुन्थ्यो, अहिले हरेक दिन गर्दा उत्साह नभएको जस्तो देखिन पनि सक्छ, त्यसो त मान्छे देशमै कम हुँदैछन् । जनसंख्या घटेपछि कहाँबाट ल्याएर मतदाता बढाउनु ? दिनको २२ सयको दरले विदेश ओइरिएको ओइरियै छन्, भोटै हाल्नलाई तिनीहरू आउलान् र जागिर छोडेर ?’
युवा र अन्य जनशक्तिको विदेश पलायनले मतदाता नामावलीमा प्रत्यक्ष असर गरेको पनि हुन सक्छ । सुरक्षा फौजबाट पनि राजीनामा दिएर जानेको संख्या बढ्दो छ । ‘ठिटाहरू गाउँ रित्याएर हिँड्ने भए, विद्यार्थी पनि हिँड्ने भए । अब जेन जी पुस्ता भनेर भोट हाल्न को आउने ? त्यसैमा बडो महाभारत भयो,’ मतदाता नामावलीउपर काम गरिरहेको एउटा स्रोत भन्छ ।
पुराना दलले सबै बिगारे, सबै बदनाम भए भन्ने कहानी बनाइएको छ । यस्तोमा नयाँ दलप्रति छुट्टै आशा र उमंग हुनुपर्ने हो तर स्थिति चर्चा गरिएजस्तो पनि देखिन्न । कात्तिक मसान्तसम्म दल दर्ताको निम्ति समय दिइएको छ । १५ वटा दल दर्ताको पाइपलाइनमा छन् । त्यो ठिटाहरूको निम्ति मात्रै हो कि अरूको हो भनेर पनि प्रष्ट छैन । कोही स्वतन्त्र आएका छन्, कोही मिसिएर आएका छन् ।
बालेन साहसँग सम्बन्धित भनिएको ‘हामी नेपाली’ दलको अवस्था २०७९ मा प्रष्ट थिएन । बालेन लौरो चिन्हबाट जिते । हामी नेपाली त्यतिखेरै दर्ता भए पनि देखिने गरी सक्रिय भएको छैन । ‘दल भनेको एउटा, दुइटा, तीनवटा, पाँचवटासम्म पो हुन्छ । अहिले नै १२५ वटा छन् । १५ वटा पाइपलाइनमा छ भनेपछि १४० पुग्ने भयो । अन्तिमसम्म ५० पुग्न सक्छ,’ स्रोतले व्यंग्यमिश्रित रूपमा भन्यो, ‘अमेरिका र बेलायतमा दुइटा दलले शासन गरेका छन् । नेपालमा यतिधेरै दल हुनु उत्साह होइन त ?’
(जनआस्था साप्ताहिकको कात्तिक २६ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू