घोटालामा मुछिएका प्रिन्सिपल र अध्यक्षविरुद्ध मुद्दा
कपिलवस्तुको तौहिवा नगरपालिका–८, मा रहेको विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
विद्यार्थीलाई प्रदान गर्न दिइएको छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तक र सामाजिक सुरक्षा करबापतको रकम हिनामिना गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।
अख्तियारले भनेको छ, ‘प्रतिवादीहरु विश्वम्भर रैदास र दुर्गा थारुले विद्यार्थीहरुलाई दिवा खाजा नखुवाई, पाठ्यपुस्तक वितरण नगर्नुको साथै छात्रवृत्ति रकम वितरण नगरेको र सामाजिक सुरक्षाबापतको कर दाखिला नगरी नेपाल सरकार एवं सार्वजनिक संस्था विश्वमैत्री आधारभूत विद्यालयलाई हानिनोक्सानी पुर्याएको ।’
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम चार लाख ४३ हजार ४३० रुपैयाँ बिगो कायम गर्दै उनीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।
टिप्पणीहरू