समृद्धिको शिखरमा पुग्ने चिनियाँ रोडम्याप,राजदूत सोङ्ग के भन्छन् ?
जनगणतन्त्र चीनको १५ औं पञ्चवर्षीय योजना आगामी जनवरी १ तारिखदेखि लागु हुँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी २० औं केन्द्रीय समितिको गत अक्टोबर २० देखि २३ तारिखसम्म बसेको बैठकले अनुमोदन गरेको उक्त योजनालाई विश्वले महत्वका साथ हेरेको छ । छिमेकी मित्रराष्ट्रले तय गरेको महत्वपूर्ण उक्त योजनाबारे नेपालमा पनि चासो र उत्सुकता देखिनु स्वाभाविक छ ।
नेपालका लागि जनगणतन्त्र चीनका राजदूत छन सोङले हिजो राजधानी काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विश्वले व्यग्रताका साथ पर्खेको चीनको १५ औं पञ्चवर्षीय योजनाको मूल विशेषताबारे जानकारी गराएका छन् । उनका अनुसार योजनामा चीनका विभिन्न क्षेत्रबाट प्राप्त उल्लेख्य तीन लाखभन्दा बढी विकासरुपी सुझावलाई समेटिएको छ । योजनामा वित्त व्यवस्थापनदेखि सबै किसिमका स्रोत र लक्ष्यसमेत स्पष्टताका साथ किटानी गरिएको छ । योजनालाई थप जनमुखी र चिनियाँ विशेषतायुक्त बनाउन प्रारम्भदेखि अन्तिम क्षणसम्म नागरिक समाजलाई पूर्ण रुपमा समावेश गरिएको थियो ।
राजदूत भन्छन्, ‘तथ्यपूर्ण र वैज्ञानिक प्रक्रिया चिनियाँ विशेषतायुक्त प्रजातान्त्रिक तवरले तर्जुमा गरिएको हो । आगामी योजना तर्जुमा क्रममा पश्चिमा शैलीको प्रजातान्त्रिक प्रक्रिया अपनाइएको होइन । चिनियाँ विशेषतायुक्त विकासलाई उच्च तहमा पुर्याउने आगामी लक्ष्यमा १५ औं पञ्चवर्षीय योजना सहयोगी हुनेमा हामी ढुक्क छौं ।’ चीनको विकासबाट आगामी दिनमा छिमेकी नेपाललगायत धेरै मुलुक लाभान्वित हुनेमा राजदूत विश्वस्त देखिए ।
विशेषगरी उच्च प्रविधि,हरियाली र सामाजिक समृद्धिमा केन्द्रित योजनालाई चीनले २०२६–३० का लागि रणनीतिक संक्रमणको योजनाका रुपमा लिएको छ ।
यो योजना चीनको सन् २०३५ सम्मको आधुनिकीकरण लक्ष्यसँग पनि जोडिएको छ । त्यसैले यसमा उच्च अवसरसँगै उत्पन्न हुनसक्ने जोखिमलाई समेत समेटिएको बताइन्छ ।
यो योजना चीनको सन् २०३५ सम्मको आधुनिकीकरण लक्ष्यसँग पनि जोडिएको छ । त्यसैले यसमा उच्च अवसरसँगै उत्पन्न हुनसक्ने जोखिमलाई समेत समेटिएको बताइन्छ ।
योजना कार्यान्वयनका लागि लिइएका आधारमा सि जिनपिङ विचारधारा, मार्क्सवाद–लेनिनवाद,नयाँ विकास दर्शन छन् । त्यस्तै पाँच क्षेत्रीय संयोजन अर्थात् अर्थव्यवस्था,राजनीति,संस्कृति, समाज र पारिस्थिति एवम् चार समग्र सुधारको रुपमा शासन, सुधार, कानुन, पार्टी निर्माणलाई पनि योजनाको सफल कार्यान्वयनसँग जोडिएको देखिन्छ ।
चीनको १५ औं पञ्चवर्षीय योजनाका मूलभूत विशेषताहरु :
आर्थिक र औद्योगिक आधुनिकीकरण
योजनाले उत्पादन र श्रमको अधिकतम उपयोगका लागि पूर्णकारक उत्पादकत्व बढाउने लक्ष्य राखेको छ। यसले चीनको आन्तरिक बजार सुदृढ पार्दै उपभोगको मात्रामा वृद्धि गर्ने र नयाँ प्रकारको औद्योगिकीकरणमार्फत् आधुनिक निर्माण, उन्नत सेवा, सूचना प्रविधि र कृषि आधुनिकीकरणमा जोड दिनेछ। प्रविधिमा आधारित उत्पादनमा जोड दिँदै नवप्रवर्तनमा आधारित उत्पादन शक्ति सृजना गर्ने रणनीति पनि योजनामा समेटिएको छ ।
सामाजिक र जनमुखी लक्ष्य
योजनाले उच्च गुणस्तर र पर्याप्त रोजगार सुनिश्चित गर्ने, आय वृद्धिलाई उत्पादनसँग समायोजन गर्ने र चिनियाँ नागरिकहरुमा मध्यम आय समूहलाई थप विस्तार गर्दै सामाजिक सुरक्षाको अवस्थामा सुधार गर्ने लक्ष्य राखेको छ । विश्वतर्फ साझा समृद्धिका लागि हाल कायम रहेको क्षेत्रीय असमानता घटाउने लक्ष्य छ ।
चिनियाँ नागरिकको शिक्षा र स्वास्थ्यको पहुँचमा थप विस्तार गर्ने एवम् समान अवसरलाई सुनिश्चित गर्ने योजना बनाइएको छ। साथै सांस्कृतिक विकासमा जोड दिँदै विद्यमान सांस्कृतिक उद्यम तथा उद्योगलाई सुदृढ पार्दै डिजिटल प्रविधिसँग तालमेलका साथ चिनियाँ संस्कृतिको प्रवर्धन गर्ने व्यवस्थासमेत राखिएको छ।
हरित र परिस्थिति विकास
योजनाले “सुन्दर चीन”को निर्माणलाई तीव्र पार्नेतर्फ विशेष महत्व दिएको छ । सुरक्षित र सफा ऊर्जा प्रणाली विस्तार गर्ने लक्ष्य चीनको छ। यसले प्रदूषण घटाउँदै त्यसको सुरक्षा सुनिश्चित गर्ने र जैविक विविधतामा थप सुधार गर्ने नीति समावेश गरिएको छ ।
राष्ट्रिय सुरक्षा र जोखिम व्यवस्थापन
योजनाले सुरक्षा प्रणाली सुदृढ पार्दै प्रमुख क्षेत्रमा जोखिम न्यूनीकरण गर्ने उद्देश्य राखेको छ। यसले सामाजिक शासन र जनसुरक्षा क्षमतामा वृद्धि गर्ने एवम् सैन्य आधुनिकीकरणलाई जारी राख्ने लक्ष्य राखेको छ।
प्रविधि र डिजिटल क्षेत्र
डिजिटल चीन निर्माणका लागि एआई पूर्वाधार,डेटा बजार र डिजिटल शासन सञ्चानलाई प्रवर्धन गर्ने नीति अपनाइनेछ । कृत्रिम बुद्धिमत्ता र डिजिटल–इन्टेलिजेन्ट प्रविधिमा राष्ट्रिय क्षमताको विकास, पारम्परिक उद्योगलाई डिजिटलमा रूपान्तरण, र एआईसँग सम्बन्धित नियम तथा कानुनलाई समयानुकूल सुदृढ गर्ने योजना यसमा समावेश छ।
बजार सुधार र एकीकृत प्रणाली
एकीकृत राष्ट्रिय बजार निर्माण गरी स्थानीय संरक्षणवादलाई हटाउने, बजार कनेक्टिभिटी बढाउने, लगानी प्रणालीमा थप सुधार गरिने योजना बनाइएको छ । यसले सार्वजनिक लगानीको दक्षता बढाउने, निजी क्षेत्रको पूँजीलाई त्यसमा सहभागी गराउने र उच्चस्तरको थप खुलापनमार्फत् व्यापार र लगानीमा सुधार गर्ने व्यवस्थाको तर्जुमा गरिने छ ।
दीर्घकालीन दृष्टिकोण (सन् २०३५)
१५औँ योजना केवल २०२६–३० का लागि नभई सन् २०३५ को आधुनिकीकरण लक्ष्यको तयारी पनि रहेकोमा जोड दिइएको छ । यसले आर्थिक शक्ति, विज्ञान तथा प्रविधि क्षमता, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय प्रभावमा निर्णायक प्रगति हासिल गर्ने योजना राखेको छ। प्रतिव्यक्ति आम्दानीको रुपमा चीनलाई मध्यमस्तरको विकासशील मुलुकको दर्जामा पुर्याउने लक्ष्य राखिएको छ ।
जोखिम र चुनौती
चीनको आगामी पञ्चवर्षीय योजनाले आगामी पाँच वर्षमा भूराजनीतिक तनाव, आपूर्ति श्रृंखलामा हुने अवरोध, उच्च प्रविधिको प्रतिस्पर्धा, उपभोगमा आधारित वृद्धिलाई सुनिश्चित गर्ने मार्गमा देखिने कठिनाइ, संस्थागत र संरचनात्मक सुधारमा अवरोध, कार्बन उत्सर्जन र हरित ऊर्जा लक्ष्य पूरा गर्न आवश्यक लगानी र जनसंख्या वृद्धि, क्षेत्रीय असमानता तथा आय असमानता जस्ता वाह्य क्षेत्रका चुनौतीहरूको सामना गर्नुपर्ने उल्लेख छ ।
टिप्पणीहरू