कर्मचारीद्वारा अध्यक्ष नै अक्षम करार, आर्थिक सुविधाबारे अख्तियार भन्छ : ‘खबरदार’

कर्मचारीद्वारा अध्यक्ष नै अक्षम करार, आर्थिक सुविधाबारे अख्तियार भन्छ : ‘खबरदार’

नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरूले अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई नै अक्षम घोषणा गरेका छन् । उनीहरुले बोर्डमा रहेको अध्यक्षको कार्यालय बाहिरको नेमप्लेट सँगै कागजमा ‘अक्षम’ लेखेर टाँसिदिएका हुन् ।

उता बोर्डमा आर्थिक सुविधा र विभिन्न कोष सञ्चालनमा मनपरी प्रवृत्ति देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता सुविधामाथि रोक लगाउनुपर्ने बताएको छ । सेबोनका कर्मचारीहरूले निजामती कर्मचारीको समान तहको तुलनामा दोब्बर मासिक तलब र सुविधा लिएको, विभिन्न कोषको नाममा मनपरी सुविधा वितरण गरिएको अवस्थालाई आयोगले कानूनी रूपमा असंगत ठहर गरेको छ ।

अख्तियारले गत साउन २७ गते अर्थ मन्त्रालयलाई पठाएको पत्रमा सेबोनमा कर्मचारी कल्याण कोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षा कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार कोष सञ्चालनमा अनियमितता भएको निष्कर्ष निकालिएको छ । जसअनुसार ती कोषबाट यसअघि प्रदान गरिएका सबै सुविधा स्वतः गैरकानुनी भएको आयोगको ठहर छ । 

पुँजी बजारको नियमनकारी निकायमा भएको यस प्रकारका आर्थिक अनियमितताको नजिर अन्य नियमनकारी निकायमा पनि लागु हुने अख्तियार र अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । भन्छन्, ‘प्रचलित नियम, कानुन विपरित र तालुक मन्त्रालयको स्वीकृतिबेगर प्रदान गरिएका सबै सुविधा रोकिन्छ । अन्यत्र पनि यसबारे अनुगमन भइरहेको छ ।’

 

टिप्पणीहरू