विध्वंशमा लुटिएको प्रहरीको पेस्तोल मूल्य बढाबढमा १ लाखमा बिक्री
जेन जी विध्वंशमा लुटिएको प्रहरीको पेस्तोल १ लाखमा बिक्री गरिएको छ । लुटिएको पेस्तोल, म्याग्जिन र ३११–२४ लेखिएको १५ थान गोलीसहित पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट लुटिएको सीएफ ९८–९ मोडलको पेस्तोल पहिले एक जनाले ६५ हजारमा र पछि अर्काले १ लाख रुपैयाँमा किनेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार धादिङको धुनिवेशी गाउँपालिका घर भई हाल काठमाडौं महानगरपालिका–१५, स्वयम्भूको ट्राफिक बिट नजिकै रहेको चरा पसलमा काम गर्ने २१ वर्षे कृष्ण गुरुङ पक्राउ परेका छन् । उनले प्रहरी कार्यालयबाट पेस्तोल लुटेको आरोप छ ।
पक्राउ परेका काठमाडौं महानगरपालिका–१५ भगवानपाउको जर्मन क्वार्टरका बासिन्दा २५ वर्षे राजन देउलाले कृष्ण गुरुङबाट उक्त पेस्तोल लिएको बयान दिएका छन् । भारतको मोतिहारी सितामणि घर भई हाल काठमाडौं–१५ ट्राफिक कार्यालय नजिक डेरामा बस्दै आएका २४ वर्षे अकबर खानले राजन देउलाबाट पेस्तोल लिएको साबिती दिएका हुन् ।
काठमाडौं–१५ को बिजेश्वरी रिट्रीट अपार्टमेन्ट नजिक बस्ने २६ वर्षे सुमिन शाक्यले अकबर खानबाट पहिले ६५ हजारमा पेस्तोल खरिद गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । उता काठमाडौं–३१ बानेश्वरका तर काठमाडौं–१७ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्दै आएका ३८ वर्षे प्रभात मल्लले आफूले सुमिन शाक्यबाट १ लाखमा पेस्तोल किनेको साबिती बयान दिएका हुन ।
शाक्यको पसलमा रहेको चेन्जिङ रुममा कपडाले बेरेर लुकाएको अवस्थामा पेस्तोले भेटिएपछि भदौ २४ गतेदेखिको घटनाक्रम सतहमा आएको हो । प्रहरीले पक्राउ परेकामाथि जिल्ला अदालत काठमाडौंबाट छ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
टिप्पणीहरू