विश्व मञ्चमा चिनियाँ राष्ट्रपतिका पाँच बुँदे प्रस्ताव

विश्व मञ्चमा चिनियाँ राष्ट्रपतिका पाँच बुँदे प्रस्ताव

दक्षिण कोरियाको ग्येङ्जुमा आजदेखि शुरु भएको एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को ३२औँ शिखर सम्मेलनको उद्घाटन समारोहलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले सम्बोधन गर्नुभएको छ । स्थानीय ह्वाबेक इन्टरनेसनल कन्भेन्सन सेन्टरमा सम्मेलन प्रारम्भ हुनुअघि चिनियाँ राष्ट्रपति सीलाई दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युंगले हार्दिक स्वागत गर्नुभएको थियो ।

सम्बोधनमा राष्ट्रपति सीले गत तीन दशकमा एपेकले एशिया–प्रशान्त क्षेत्रलाई विश्व आर्थिक वृद्धिको अग्रपङ्तिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । विश्व अहिले अभूतपूर्व परिवर्तन र अनिश्चितताको अवस्थामा रहेको बताउँदै, यस्ता चुनौतीपूर्ण समयमा पनि एपेक सदस्य राष्ट्रहरूले सहकार्य, समृद्धि र खुला विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

सिसिटिभी प्लसका अनुसार राष्ट्रपति सीले क्षेत्रीय आर्थिक सहयोग र विकासलाई सुदृढ गर्न पाँच बुँदे प्रस्ताव अघि सार्नुभएको छ ।

पहिलो बुँदामा बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्नुपर्ने उल्लेख छ । विश्व व्यापार संगठनको अधिकार थप सुदृढ गर्दै, अन्तर्राष्ट्रिय व्यापार नियमहरूलाई समयानुकूल अद्यावधिक गरिनुपर्नेमा उहाँको जोड छ । यसबाट विकासोन्मुख राष्ट्रहरूको वैध अधिकार र हितको रक्षा गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

दोस्रो, खुला आर्थिक वातावरण निर्माण गर्नुपर्ने राष्ट्रपति सीको भनाइ छ । एपेकले व्यापार तथा लगानी उदारीकरण, राजस्व र वित्तीय सहकार्य र क्षेत्रीय एकीकरणलाई प्रोत्साहन दिनुपर्छ । यसमा आरसीइपी र सिपिटिपिपी जस्ता स्वतन्त्र व्यापार सम्झौताहरूलाई समायोजन गरी एशिया–प्रशान्त स्वतन्त्र व्यापार क्षेत्र एफटीएएपीको  दिशामा अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ ।

तेस्रो, औद्योगिक र आपूर्ति श्रृंखलाको स्थायित्व सुनिश्चित गर्नुपर्छ। साझा हित विस्तार, भौतिक, संस्थागत र जनस्तरको सम्बन्ध तथा सम्पर्क सुदृढीकरण नै क्षेत्रीय खुला विकासको आधार भएकोमा चिनियाँ राष्ट्रपतिको जोड छ ।

चौथो, डिजिटल र हरित रूपान्तरणलाई अगाडि बढाउनुपर्नेमा चीन अडिग देखिन्छ । प्रविधिको प्रयोगमार्फत् व्यापारमा सहजता ल्याई, हरित उद्योग र स्वच्छ ऊर्जामा सहकार्यलाई गहिर्याउन आग्रह गरिएको छ ।

पाँचौं, सर्वसमावेशी र साझा लाभदायी विकासको प्रवद्र्धन र असन्तुलन घटाउँदै दिगो विश्वीकरणलाई प्रोत्साहन गर्नुपर्नेतर्फ औंल्याइएको छ । चीनले ‘बेल्ट एन्ड रोड इनीसिएटिभ’लाई उच्च गुणस्तरमा अघि बढाउँदै साझा समृद्धिको लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको पनि चिनियाँ राष्ट्रपतिले दोहोर्याउनुभएको छ ।

राष्ट्रपति सी जिनपिङले चीन खुला विश्व अर्थतन्त्रप्रति दृढ प्रतिबद्ध रहेको उल्लेख गर्दै भन्नुभयो, ‘चीनले सन् २०२६ देखि लागू हुने १५औँ पाँचवर्षे योजना तयार पार्ने सन्दर्भमा सुधार, उच्चस्तरीय खुलापन र सहकार्य विस्तारलाई नयाँ अवसरका रूपमा लिनेछ, जसबाट एशिया–प्रशान्त र विश्वलाई लाभ हुनेछ ।’

स्रोत : सिसिटिभी प्लस ।

टिप्पणीहरू