कसरी एजेन्टहरूसँग बस्नुहुन्छ कमरेड ?

कसरी एजेन्टहरूसँग बस्नुहुन्छ कमरेड ?

आफूले छोड्नुपरे कुर्सी नै भाँचिदिन्छु भन्ने र भदौ २४ गते ज्यान जोगाउनै मुश्किल परेपछि अन्तिम घडीमा राजीनामा दिएर हेलिकप्टरमा हेटौंडा ब्यारेक पुग्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूमाथि आइलागेको संकट तत्काललाई टारेका छन् । सचिवालयका बहुमत नेताले मार्गप्रशस्त गर्न आग्रह गरे पनि त्यसलाई लत्याउँदै उनले नेतृत्व नछोड्ने निर्णय सुनाएका हुन् ।

गत शुक्रबार र आइतबार दिनभर बसेको पार्टीको ‘हाइकमाण्ड’ भनिने सचिवालय बैठकमा बहुमत सदस्यले पछिल्लो परिस्थितिको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन सुझाएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित अधिकांश पदाधिकारीले नेतृत्व पुनर्गठनको पक्षमा खुलेर धारणा राख्दा चार जनामात्र ओलीको निरन्तरताका पक्षमा देखिए । तर, आइतबार बेलुकी अबेर टुंगिएको बैठकले मङ्सिर अन्तिम साता महाधिवेशन गर्ने भन्दै ओलीको नेतृत्वमाथि तेर्सिएको चुनौती पन्छाएको छ । अब महाधिवेशनले नै नेतृत्वबारे फैसला गर्नेछ ।

गत भदौ २२ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनबाट पार्टी सत्ताका लागि अर्को पाँच वर्षको ‘बैंक चेक’ पाएका ओलीले दुई दिनपछि नै राज्य सत्ताबाट बहिर्गमनमा पर्नुप¥यो । सरकार प्रमुखको रूपमा उनकै असफलताका कारण आजको अवस्था निम्तिएको टिप्पणी सर्वत्र भैरहेको छ । एमालेमा पनि ठूलोपंक्तिले अब नेतृत्वको ‘नालायकी’ को साक्षी पार्टी बन्न नहुने मत राखिरहेको छ । सचिवालय बैठकसम्म आइपुग्दा नेतृत्व छोड्न खुला दबाब बढेकाले ओलीका लागि मंसिरको महाधिवेशन सहज देखिँदैन ।

सचिवालय बैठकमा ६ उपाध्यक्षमध्ये सुवास नेम्वाङको निधनपछि मनोनित गुरूप्रसाद बरालले मात्र ओलीलाई समर्थन गरेका छन् । महासचिव शंकर पोखरेल र दुई जना उपमहासचिव पनि नेतृत्वमा ओलीको निरन्तरताकै पक्षमा देखिए । एमालेको १९ सदस्यीय सचिवालयमा टोपबहादुर रायमाझी निलम्बनमा परेकाले अहिले १८ जना छन् । जसमध्ये चार जनाबाहेक सबै नेतृत्व पुनर्गठनको पक्षमा प्रष्ट खुलेनन् मात्र उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले त लिखित राजीनामा नै मागे । यसबाट चर्को दबाबमा परेका ओलीले महाधिवेशनबाटै पार्टी विभाजन गर्नसक्ने खतरासमेत नेताहरूले औंल्याएका छन् ।

तत्कालीन नेकपामा आफू अल्पमतमा परेपछि ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए । महेश बस्नेतहरूलाई अगाडि सारेर ‘नेकपा एमाले’ नामक अर्को दल गठन गर्न लगाइएको थियो । अहिले पनि आफूलाई चुनौती दिएकै कारण विद्या भण्डारीको सदस्यता खोसेका उनले सहज नेतृत्व छोड्ने सम्भावना छैन । यसको पुष्टि कसरी पनि हुन्छ भने ओलीनिकटहरूले नेतृत्व परिवर्तनको पक्षमा बोल्नेहरूलाई प्रतिक्रियावादीका एजेन्टको आरोप लगाउन थालेका छन् ।

जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले केही दिनअघि एउटा अनौपचारिक छलफलमा नेतृत्वमाथि बाहिरबाट आक्रमण भैरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस चलाउनेहरू प्रतिक्रियावादीका एजेण्ट हुन् भनेका थिए । सचिवालय बैठकको दुई दिनअघि गुण्डु भेलाको पूर्वसन्ध्यामा आफूसमेत सहभागी उक्त छलफलमा ढकालले अत्यन्त असहिष्णु टिप्पणी गरेको एक नेताले बताए । ‘पार्टीभित्र कुरा अनेक आउँछ, बैठक बस्ला, छलफल पनि होला तर कुरा उठ्नेबित्तिकै प्रतिक्रियावादीको एजेन्ट भनेपछि,’ उनी भन्छन्, ‘प्रतिक्रियावादीका एजेण्टहरूसँग सँगै बस्न सकिन्छ त ?’

सबै कुरा बुझेका नेताहरू ओलीलाई पहिला अर्ली महाधिवेशनका लागि सहमत गराउने रणनीतिमा थिए । महाधिवेशनमा जान तयार हुनु भनेको आफ्नो नेतृत्वमाथि प्रश्न उठ्यो भन्ने स्वीकारोक्ति हो । नत्र अहिलेको केन्द्रीय कमिटीको पदावधि २०८३ को मङ्सिरसम्म छ । एक वर्षअघि नै महाधिवेशन गर्न तयार हुनुको मतलब यो तरिकाले पार्टी चल्दैन भन्नेमा ओली सहमत भएको अर्थ लागेको छ । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल वा अरू कसैलाई संयोजक बनाएर महाधिवेशनमा जान ओली तयार भएनन् । 

‘पदमा रहिरहे आफू बलियो हुने र कारवाही गर्न सक्दैनन्, भूपू भएको भोलिपल्ट अँठ्याउँछ भन्ने डर उहाँमा देखिन्छ’, उनै नेता भन्छन्, ‘त्यसकारण अर्ली महाधिवेशनका लागि सहमत भए पनि उहाँ नेतृत्व छोड्ने मनस्थितिमा चाहिँ हुनुहुन्न ।’ उपमहासचिव प्रदिप ज्ञवालीले एउटा आन्तरिक छलफलमा मुखै खोलेर भने, ‘अहिले पदबाट हटाउँदा कारवाही गर भनेको अर्थ लाग्छ, त्यसो गर्नु हुँदैन ।’

एमालेमा अहिले कस्तो देखिन्छ भने सहज अवस्थामा नेतृत्व सफल भएको अर्थ लगाएर प्रश्न उठाउन रोक लगाउने । अलिकति असहज हुँदा, प्रतिक्रियावादीले लखेटेको बेला सबैले नेतृत्वलाई साथ दिनुपर्छ भनेर बचाऊ गर्ने । यसलाई हिरण्यकश्यपुको कथासँग दाँज्दै अर्का नेता भन्छन् ‘हिरण्यकश्यपुले ब्रह्मालाई खुशी पारेर आफूलाई भूमि, आकाश र जल तीनै स्थानमा कसैले मार्न नसकोस् भनी बरदान मागेका थिए । उनले आफ्नो मृत्यु टार्ने यस्तो जुक्ति लगाएजस्तै अवस्था हाम्रो पार्टीमा देखिएको छ ।’

(जनआस्था साप्ताहिकको असाेज २९ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू