गाजामा २ वर्षमा, नेपालमा ४८ घण्टामा
हमास र इजरायलबीच भएको पछिल्लो युद्धमा प्यालेष्टाइनको गाजा शहर खरानी भएको छ । दशौं लाख गाजाबासी विस्थापित भएका छन् । गाजामा युद्धले दुई वर्षमा ७० अर्ब डलर बराबरको क्षति गरेको अनुमान छ । अबको पुनर्निर्माणमा २० अर्ब डलर लाग्ने हिसाब छ ।
तर नेपालमा गत भदौ २३ र २४ गते कुनै युद्ध भएको थिएन । न त बम नै पड्किएका थिए । दुई दिनमा अझ ९५ प्रतिशत क्षति २४ गतेका दिन भएको थियो । ४८ घण्टामा ५ अर्ब डलर बराबरको क्षति भएको नेपालमा पुनर्निर्माणमा पनि त्यत्तिकै रकम लाग्ने देखिएको छ ।
गाजाको विनाशमा हजारौं मिसाइल, ट्यांक र हवाइ बमको प्रयोग भएको थियो । नेपालको विनाशमा महत्वपूर्ण कागजात,अदालतका फाइल,ठेक्का र भुक्तानीका कागजपत्रहरू मात्रै निशानामा पारिएका थिए । उता घर ध्वस्त भएकोमा स्थानीय रोइरहेका छन् । हाम्रोमा भने बजेट ध्वस्त भयो भनेर चुपचाप हेरिरहेका छौं ।
त्यहाँ युद्धले अधिकांश (भौतिक पूर्वाधार) इन्फ्रास्ट्रक्चर नष्ट गरेको छ । नेपालमा असक्षम र भ्रष्ट राजनीतिक नेतृत्व,परम्परागत प्रशासन र चरम महत्वाकांक्षी नयाँ पुस्ताले सामाजिक विश्वासमा धक्का पुर्याएको छ ।
नेपालमा ‘विकास’ भन्ने शब्द अहिले विनाशको पर्याय बन्न थालेको छ। दुई दिनमा ५ अर्ब डलर उडाइएको छ तर त्यसको हिसाब माग्ने कोही देखिएका छैनन् । उता गाजामा स्थानीय बाँच्नका लागि संघर्षरत छन् । यहाँ नागरिकहरू पारदर्शिताको खोजी गर्दैछन् ।
यसबाट एउटा महत्वपूर्ण प्रश्न उठेको छ- नेपालमा विनाश प्राकृतिक हो कि योजनाबद्ध ?
टिप्पणीहरू