नागरिक उड्डयनका महानिर्देशकले तत्काल राजीनामा दिनुपर्ने जेन जीको अनिवार्य शर्त
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भेटेर जेन जी समूहले निकै ठूलो चेतावनी दिएको छ । आज दिउँसो जेनजी युवाहरूको एउटा समूह सिनामंगलस्थित प्राधिकरणको मुख्यालय पुगेर ‘अर्बौंको भ्रष्टाचार, काम शून्य’ भन्दै नाराबाजी गरेको थियो । उनीहरुले अधिकारीको तत्काल राजीनामा मागेका छन् ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता र भ्रष्टाचारको दोष अधिकारीले लिनुपर्ने भएकाले पदमा नबस्न उनीहरुले चेतावनी दिएका हुन् । उनीहरूले ज्ञापनपत्र बुझाउँदै भने, ‘राजीनामा दिनुस्, तुरुन्त दिनुस् । जनता अब मौन बस्दैनन्।’
जेन जीका अनुसार अधिकारीले प्राधिकरणमा आफ्ना निकटहरु भर्ना गराएको, परियोजनामा ‘कमिसन संस्कार’ ले जरा गाडेकोलगायत आरोप लगाएका छन् । तर महानिर्देशक अधिकारीले आफूमाथि लागेको आरोप निराधार भएको बताउँदै भने, ‘मेरो मान्छे राखिएको प्रमाण देखाउनुस्, म तुरुन्त राजीनामा दिन्छु।’
यसअघि अधिकारीमाथि संसदको सार्वजनिक लेखा समितिले ती विमानस्थल निर्माणमा अनियमितता भएको ठहर गर्दै स्पष्टिकरण मागिसकेको थियो। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान थालेको छ । तर, हालसम्म पनि राजीनामा नदिएकाले आफूहरुले सडकदेखि कार्यालयसम्म दबाब अभियान थालिएको जेन जीको भनाइ छ ।
टिप्पणीहरू