माओवादीको जोड पार्टी एकतामा
नेकपा (माओवादी केन्द्र)ले मंसिरमा हुने विशेष महाधिवेशनअघि विचार मिल्ने राजनीतिक पार्टीहरुसँग एकताको प्रयास गर्ने भएको छ ।
आज पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले समाजवादी मोर्चामा आवद्ध दलहरुसँग एकताको प्रयास गर्ने निर्णय गरेको हो । हाल मोर्चामा माओवादीसहित नेकपा (एकीकृत समाजवादी, नेकपा कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल समाजवादी पार्टी (नेसपा) छन् ।
महिन्द्र राय यादव नेतृत्वको नेसपासँग यसअघि नै एकताको सहमति भइसकेको तथा नेकपा (एस) र नेत्रविक्रम चन्द विप्लवको नेकपासँग एकताको अर्थपूर्ण पहल थाल्ने माओवादीको निर्णय छ । आजको बैठकपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनअघि विचार मिल्ने पार्टीहरुसँगको एकतालाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
फागुन २१ गते हुने भनिएको निर्वाचनमा सहभागी हुने स्पष्ट सन्देश दिँदै प्रचण्डले भन्नुभयो, ‘पार्टी कसरी अघि बढ्ने कुरा केन्द्रीय कमिटीको बैठकले तय गरिसकेको छ, अहिले विचार मिल्ने अन्य राजनीतिक दलहरुसँग कुराकानी भइराखेको छ, सकेसम्म विशेष महाधिवेशनअघि नै एउटा परिणाम आउनेगरी एकताको पहल गर्ने निर्णय भएको छ ।’
नेकपा (एस)ले अघिल्लो हप्ता वरिष्ठ नेता वेदुराम भुसालको संयोजकत्वमा वार्ता टोली बनाइसकेको छ । नेकपाले केन्द्रीय कमिटीको बैठकबाट एकताबारे औपचारिक निर्णय गर्ने बताएको छ ।
टिप्पणीहरू