विपद् प्रतिकार्यमा ३० हजार सुरक्षाकर्मी परिचालन
विपद् प्रतिकार्य तथा व्यवस्थापनका निम्ति ३० हजार बढी सुरक्षाकर्मी खटिएका छन् ।
शुक्रबारदेखिको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबानजस्ता विपद्माजन्य घटनामा फसेकाहरूको उद्धार तथा सुरक्षाका निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाबाट ३० हजार ६८ जना सुरक्षाकर्मी परिचालित भएका हुन् । जसमध्ये सबैभन्दा धेरै प्रहरीतर्फ २० हजार ४८५ जनशक्ति खटाइएको छ ।
सशस्त्र प्रहरी बलले नौ हजार ३४६ र नेपाली सेनाका दुई सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन गरिएको जनाइएको छ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषकुमार भट्टराईका अनुसार काठमाडौंमा मात्रै शनिबार एक सय ३० जना प्रहरी परिचालन गरिएको थियो ।
सातै प्रदेशमा रहेका प्रदेश प्रहरी गुल्मबाट एक सय २५ जनाको दरले स्ट्याण्डबाइ रहेर मौसम प्रतिकूलताको समयमा जनशक्ति परिचालित भइरहेको उनको भनाइ छ ।
यस्तै, सशस्त्र प्रहरीका एसएसपी दिगविजय सुवेदीले हरेक युनिटबाट ३५ जनाको फौज विपद् उद्धारमा खटाइएको जानकारी दिए । उनका अनुसार देशभरका युनिटबाट नौ हजार तीन सय ४६ जना परिचालित छन् ।
सशस्त्रले ३३ वटा मोटरबोट, ९६ वटा र्याफ्टिङ गरी एक सय २९ वटा डुंगा उद्धार कार्यमा तैनाथ गरेको एसएसपी सुवेदीले बताए । सात हजार ६१५ जना जनशक्तिलाई अहिले पनि तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।
तीमध्ये एक सय ३५ गोताखोर र झण्डै चार हजार तालिम प्राप्त जनशक्ति हुन् । काठमाडौं, रौतहट, झापा र इलाममा उद्धार कार्य जारी रहेको पनि उनले बताए ।
सेनाका रथी विष्णुकुमार खड्काले विपद् प्रतिकार्यका निम्ति २७ स्थानमा दुई सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मी इक्वीपमेण्टसहित तैथान गरिएको बताए । उद्धार छिटो होस् भन्ने हेतुले सुर्खेत र इटहरीमा एउटा–एउटा हेलिकप्टर अग्रिम तैथान गरिएको उनको भनाइ छ ।
सम पूर्वानुमान गर्दा अत्याधिक वर्षा हुने भनेसँगै हामीले ७७ वटै जिल्लामा तैनाथ ९४ वटा गणहरुबाट एक गुल्म र ५८ वटै गुल्ममा एक स्ट्याण्डबाइ फौज आधारभूत उद्धार सामग्रीसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखेका थियौं,’ उनले भने ।
टिप्पणीहरू