पूरै शंकास्पद र अविश्वसनीय देखियो जाँचबुझ आयोग

पूरै शंकास्पद र अविश्वसनीय देखियो जाँचबुझ आयोग

जेनजी प्रदर्शनमा भएको भौतिक तथा मानवीय क्षतिमाथि छानविन तथा अनुसन्धान गर्न सरकारले बनाएको जाँचबुझ आयोगको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ । पूर्व न्यायाधीशसमेत रहेका आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तटस्थ भएर काम गर्नुको साटो सिमित व्यक्तिहरुको चाहनाबमोजिम कामकारवाही अघि बढाएको भन्दै सर्वत्र प्रश्न उठ्न थालेको छ । 

आयोगलाई निष्पक्ष ढंगले छानविन गरी तीन महिनाभित्र रायसुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेश छ । तर कार्कीले गैरसरकार सँस्था 'हामी नेपाल'का सँस्थापक सुदन गुरुङको चाहनामा आयोगको तर्फबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी तत्काल रोक्का गर्न सरकारलाई सिफारिस गरेपछि उनका अघिल्ला स्ट्याटससमेत जोडेर वर्तमान भूमिकामाथि शंका गर्न थालिएको हो । 

हिजो आइतबार बिहान गुरुङले कार्कीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए । लगत्तै आयोगले एक विज्ञप्ति सार्वजनिक गर्दै ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने व्यवस्था गर्न सरकारलाई सिफारिश गरेको थियो । त्यसको अघिल्लो दिन प्रधानमन्त्री सुशीला कार्कीसँग काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले  पनि कार्वाहीकै मागसहित भेटेका थिए । 

सरकार र जाँचबुझ आयोगले आफ्नै विवेक प्रयोग गरेर जेनजीको माग सम्बोधन गर्न निष्पक्ष ढंगले काम गरिरहेको छ वा बालेन र सुदनको चाहनाबमोजिम काम चलिरहेको छ ? यतिबेला गम्भीर प्रश्न उठेको छ । 

नेकपा एमालेका नेता सूर्य थापाले हिजो नै आयोग अध्यक्ष कार्कीलाई राजीनामा दिएर इज्जत जोगाउन सल्लाह दिइसकेका छन् । कार्कीको सामाजिक सञ्जाललाई अध्ययन गर्ने हो भने उनी स्वयंले पनि भदौ २४ गते प्रदर्शनकारीलाई उक्साउन सहयोग गरेको देखिन्छ । सोही सन्दर्भ औँल्याउँदै एमाले नेता थापाले भनेका छन्, ‘गौरीबहादुर कार्की श्रीमान्,तपाईंबाट निष्पक्ष छानविन हुनसक्ने न्यायिक मन र हैसियत दुबै देखिएन। निन्दा र भर्त्सनाको भुमरीमा नपर्नुस्, छाडेर बाटो लागिकन इज्जत जोगाउनुस् !’

टिप्पणीहरू