आरजुको घाटा सवा अर्ब
जेनजी ध्वंशका क्रममा राज्यलाई खर्बौं रुपैयाँको क्षति भएको छ । विद्याको मन्दिर पनि जलाइएको छ । विद्यालय शान्ति क्षेत्र हो जहाँ आगजनी, हिंसात्मक गतिविधि, आन्दोलन, हुलदंगा गर्न पाइँदैन भनिन्छ तर, आफूलाई चेतनशील र पढेलेखेको जमात भन्नेहरूले समेत शिक्षाको महत्व बुझेनन् ।
र, विद्यार्थीहरू पढ्दै आएको संरचनामा रिस पोख्ने काम भयो । राजधानीकै चर्चितमा गनिने ग्लोबल कलेज भग्नावशेषमा परिणत भएको छ । मध्य बानेश्वरस्थित उक्त कलेज नेताको छोराछोरी पढ्ने भन्दै पेट्रोल छर्केर आगो लगाइँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासनजिकै रहेको मुलुककै महंगो स्कूलमध्येमा पर्ने युलेन्स स्कूल पनि विध्वंशकारीको निशानामा परेको छ । त्यहाँका शिक्षकको तलब र विद्यार्थीको मासिक शुल्क बराबरी अर्थात् पचास हजार नै कायम छ ।
काँग्रेस सभापति शेरबहादुर देउवापत्नी डा.आरजु राणा देउवा अध्यक्ष रहेको सो स्कूल खण्डहर बनेको छ । भित्री संरचना सबै नष्ट भएकोमा बाहिर पर्खाल मात्र बाँकी छ । क्यान्टिन, ल्याब, लाइब्रेरी, प्रशासन, कक्षाकोठालगायत सबै जलेको छ । तीन वटा बिल्डिङ रहेमध्ये एउटाचाहिँ ध्वंसात्मक घटनाको तीन दिनअघि मात्र निर्माण सम्पन्न भएको थियो । भवन हस्तान्तरण गरिए पनि उद्घाटन भएको थिएन । सो भवन अब शायद कहिल्यै उद्घाटन हुने छैन ।
किनकि, विध्वंशकारीले नयाँ भवन पनि जलाइदिएका छन् । पार्किङमा राखिएको ६५ वटा भ्यान र बस जलेर बेकामे भएको छ । प्रारम्भिक मूल्याङ्कनअनुसार एक अर्ब २५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । अण्डरग्राउण्ड पार्किङस्थलमा गरिएको आगजनी एकदमै रहस्यमय छ । रड, फलामका डण्डी, स्टिललगायतका सामान राखेर बनाइएको पार्किङस्थलको छतसमेत जलेर एकै ठाउँमा च्यापिएको छ ।
त्यस स्थललाई खरानी बनाउन विध्वंशकारीहरूले सयौं लिटर पेट्रोल खन्याएको सजिलै अनुमान लगाउन सकिन्छ । त्यहाँका एक कर्मचारी भन्छन्, ‘फलानोको स्कूल भन्दै आएर तोडफोड गरे । पार्किङस्थल हत्तपत्त नजल्ने सामानहरू राखेर बनाइएको थियो । त्यो त जलेर ध्वस्त बनेको छ भने उनीहरूले आगो लगाउन कतिचाहिँ मिहिनेत गरेका होलान् !’ यता, जिल्ला प्रशासन कार्यालय, ललितपुरकी सूचना अधिकारी सहायक प्रजिअ गीता घिमिरेले विद्यालयले सबै ध्वस्त भएको भनी रिपोर्टिङ्ग गरेको जानकारी दिइन् । त्यसैगरी, उनले ललितपुरका २० वटा प्रहरी युनिटमा क्षति पुगेको बताइन्।
(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू