घर जलाउने एप कसले घुमायो ?
जेनजी आन्दोलनपछिको हर्ताकर्ताका रुपमा सुदन गुरुङलाई अगाडि सारेर विदेशीले नराम्ररी फसाएको विश्लेषण जानकारहरूले गर्न थालेका छन् । उनीहरूका अनुसार अब घटनाबारे छानबिन हुँदा गुरुङ निकै अप्ठ्यारो स्थितिमा पुग्ने देखिन्छ । नेताका घरहरूको विवरणसहितको एप निर्माण र सञ्चालनको अभियोग उनीमाथि लाग्ने भएको छ । समाचार स्रोतका अनुसार, डिस्कर्डमार्फत आफ्नो सञ्जालमा जलाउने नेताको घरको लोकेसन ट्र्याक गरिएको एप नै वितरण गरेको आरोप उनीमाथि लगाइँदैछ । जलाउने घरहरूको सूची मात्रै वितरण गरेका थिएनन् कि लोकेसन म्याप र सो कामको जिम्मेवारीसहितको ग्रुप डिभिजनसमेत गरेको तथ्य फेला परेको अनुसन्धान अधिकारीहरूको दावी छ ।
एक उच्च अधिकारीका अनुसार दोस्रो दिनको आन्दोलनमा चोर, फटाहा, हुल्लडबाजदेखि जिम्मेवार राजनीतिक दलका नेता–कार्यकर्तासमेत परिचालित भएका थिए । कांग्रेस र एमाले नेताको घर माओवादी, रास्वपा र राप्रपाका कार्यकर्ताले जलाइदिएका छन् भने माओवादी नेताको घर जलाउन एमाले–कांग्रेसका युवा शक्ति पुगेका छन् । त्यति मात्र होइन आफ्नै दलका इतरपक्ष नेताको घर त्यही दलका कार्यकर्ताले जलाएको तथ्यसमेत फेला परेका छन् । एक अनुसन्धान अधिकारीका अनुसार भीम रावलको घर जलाउन जाने टोलीको नेतृत्व एमाले युवा संघका कार्यकर्ताहरूले गरेका थिए । त्यसैगरी पूर्वराष्ट्रपति रामवरण यादवको घरसमेत दलीय कार्यकर्ताले नै जलाएका हुन् ।
अहिले के कुराको खोजी भइरहेको छ भने २३ गतेको घटना भइसकेपछि त्यो दिन राति ९ बजे विध्वंश मच्चाउने तयारी कसले, कसको निर्देशनमा कहाँ र कसरी गरेका थिए ? प्रमाणित तथ्यहरूले २४ गते जलाउने र तोडफोड गर्ने घरहरूको नयाँ सूची तयार गरी लोकेसन म्यापमा अपलोड गरेको देखाउँछ । काठमाडौंका सिडिओ छवि रिजालको घरको लोकेसन २३ गतेसम्म उनीहरूको लिष्टमा थिएन । जबकि भोलिपल्ट बिहान मात्रै त्यसलाई अपडेट गरिएको हो । त्यसैगरी सूचीमा नपरेका कतिपय घरसमेत दोस्रो दिनमा अपडेट गरेर जलाइएको देखिन्छ । यो चुनौतीपूर्ण अनुसन्धानमा समेत सम्बन्धित निकाय लागिसकेको छ । डिस्कर्डमा यी खालका सूचना राखेर फेसबुक, ह्वाट्सएप, मेसेन्जर, भाइबरलगायतका सामाजिक सञ्जालमार्फत फिँजाइएको निश्कर्षमा अनुसन्धान अधिकृतहरू पुगिसकेका छन् । डिस्कर्डमार्फत १ लाख ६३ हजार जना एकआपसमा जोडिएका थिए । अहिले त्यो एप कहाँ र कसरी होस्टिङ गरिएको थियो भन्ने विषयसमेत हटाइसकेको हुँदा अनुसन्धानमा जटिलता थपिएको सुरक्षाकर्मीहरूको भनाइ छ ।
जेनजी आन्दोलनलाई शुभकामना दिने र समर्थन जनाउने डा. बाबुराम भट्टराईको घरसमेत जलाउने सूचीमा पछि राखियो । प्रचण्डको घरबाट महत्वपूर्ण सामग्री दुई दिनअघि अन्यत्र सारिएको अनुसन्धानमा देखिएको छ । त्यो कसरी सम्भव भयो र उनलाई यस्तो सूचना कसले कुन रूपमा दियो भन्ने प्रश्नको जवाफसमेत खोजी भइरहेको बताइन्छ ।
धेरै जना विश्लेषकले अहिले नेपालमाथि भएको आक्रमण विदेशी ड्रोन र सेनाले गर्ने आक्रमणभन्दा घातक रहेको बताइरहेका छन् । कम्तीमा त्यस प्रकारको आक्रमणमा शत्रुको प्रष्ट पहिचान हुने तर यस्ता छद्मभेषी आक्रमणमा भने दोषीको पहिचान नहुने हुँदा यसलाई घातक मानिन्छ । प्रहरीको मनोबल गिराएर कामै गर्न नसक्ने स्थितिमा पुर्याउने र त्यसपछि सेना सक्रिय बन्ने योजनाअन्तर्गत समेत काम भएको हुनसक्ने अनुमान पनि केहीले गर्न थालेका छन् ।
सुरक्षाका जानकारहरू सामाजिक सञ्जाललाई स्वतन्त्र ढंगले चल्न दिने नाममा मुलुकमाथि यसरी भइरहेका आक्रमणप्रति अन्तरिम सरकारसमेत संवेदनशील बन्नुपर्ने सुझाव दिन्छन् । भारत, अमेरिकालगायतका मुलुकमा टिकटक चल्न नपाउने, दुबईमा फेसबुक नचलाएर बोटिम मात्र प्रयोग गर्ने र चीनले फेसबुक, गुगललगायत सञ्जालमाथि रोक लगाएको उदाहरण उनीहरूले पेश गरेका छन् । कुनै पनि राज्यले आफ्नो सुरक्षालाई केन्द्रमा राखेर निर्णय गर्न पाउने अधिकार हुन्छ भन्ने कुरालाई नयाँ सरकारले पनि स्वीकार गर्नुपर्ने मान्यता उनीहरूको छ । आजकै मितिमा कसैले ह्वाट्सएपमार्फत कसैलाई कुनै प्रकारको धम्की दियो वा अपराध गर्यो भने नियन्त्रण गर्नसक्ने हैसियतमा नेपाल प्रहरी छैन । किनकि उसले आवश्यक सूचना तुरुन्तै प्राप्त गर्न नै सक्दैन ।
त्यसबाहेक लुटिएका हतियार र बर्दीको खरिदमा मात्रै पनि धेरै ठूलो धनराशी खर्च गर्नुपर्ने स्थिति बनेको छ । प्रहरी कार्यालय भवनदेखि लिएर सरकारी भवनहरूको निर्माणका लागि खर्च हुने रकमको आकलन नै कहालीलाग्दो देखिएको छ ।
(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू