टिकटकमा ‘झोले एक्सपोज’ ट्रेण्ड शुरु, निशानामा ओली र फोटो खिच्नेहरु
नेपाली कांग्रेस र एमालेको शक्तिशाली गठबन्धन सरकारलाई ढाल्न सफल भएको ‘नेपो बेबी’ ट्रेण्डपछि टिकटकमा नयाँ ट्रेण्ड सुरु भएको छ, ‘झोले एक्सपोज’ । उक्त ट्रेण्डको मुख्य निशानामा एमाले र निवर्तमान प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली देखिएका छन् ।
एमालेले केही समयअघि झोलाभित्र एकीकृत माक्र्सवाद लेनिनवाद र जबज (जनताको बहुदलीय जनवाद)को विचार राखिएको भन्दै सामाजिक सञ्जालमा ‘झोले’ अभियान चलाएको थियो । त्यतिबेला पार्टीको नेतृत्वदेखि कार्यकर्ताले निकै सक्रियताका साथ उक्त अभियान चलाएका थिए । अहिले जेन–जी समूहले सोही अभियानलाई आधार बनाएर ‘झोले एक्सपोज’ अभियान चलाएको हो ।
जेन–जी प्रदर्शनपछि राजनीतिक दलहरुभित्र पुनर्गठनको माग उठिरहेको बेला एमाले अध्यक्ष ओलीले भने नेतृत्व नछाड्ने घुमाउरो संकेत दिइसकेका छन् । सैनिक सुरक्षा घेराबाट निस्किएर भक्तपुरको गुण्डुमा नयाँ घर लिएर बसिरहेका ओलीलाई हाल पार्टीकै पोलिटब्युरो सदस्य महेश बस्नेतको सुरक्षामा राखेको बताइन्छ ।
हिजो उनै बस्नेतले हिजो बिहान ओलीसँग युवाहरुको फोटो सेसन राखेका थिए भने दिउँसो राष्ट्रिय युवा संघ र अनेरास्ववियुका कार्यकर्ताहरुलाई गुण्डुमा बोलाएर ‘आई लभ यु केपी बा’ को नारा लगाउन लगाएका थिए ।
यसरी ओलीका लागि नारा लगाउने युवाहरुलाई टिकटकमा भने ‘झोले’ भनेर संज्ञा दिइएको छ । अहिले टिकटकमा ओलीसँग फोटो खिच्ने र ‘आई लभ यु’को नारा लगाउनेहरुलाई समेत बहिष्कार गर्ने रणनीतिसहित ह्यासट्याग ‘एक्सपोज झोले’ ट्रेण्डले व्यापक रुप लिएको छ ।
ट्रेण्डमा ओलीसँग विभिन्न समय र ठाउँमा फोटो खिच्ने व्यक्तिहरु एक्सपोज भएको देखिन्छ ।
टिप्पणीहरू