‘बाह्र आनाको मसला एक पोटी लसुनले स्वाहा’

‘बाह्र आनाको मसला एक पोटी लसुनले स्वाहा’

भदौ २४ गतेको अघिल्लो दिनसम्म ‘अब आफ्नो चल्ने भो’ भनेर दङ्ग परेका रवि लामिछाने र राजावादीहरु हिस्स परेका छन् । जेन जी आन्दोलनको श्रेय लिन पत्नी निकिता पौडेलमार्फत शुभकामनाको एउटा खेस्रा जारी गरेर ढुक्क भएका थिए रवि । उनलाई लाग्यो– अब जेन जीले बालुवाटार थपक्क पुर्याउँछन् र आफू प्रधानमन्त्री हुने निश्चित छ ।

त्यही योजनासाथ केही उरन्ठेउलालाई आदेश दिँदै, आफैंले नक्कली कागज बनाएर जेलबाट हुटवाला गाडीमा विजयोत्सव मनाएझैँ भदौ २४ गते निस्केका थिए उनी । तर जब उनी जेलबाट निस्किए– उक्त पुस्ताले भन्यो, ‘रवि हाम्रो नेता होइन, उनलाई जेलबाट हामीले निकालेको पनि होइन ।’ 

त्यसपछि जन्मदिन पारेर भिजेको मुसोझैँ रविको फिर्ती नख्खु जेलमा भयो । मध्यरातमा सार्वजनिक भएको पत्र नक्कली रहेको जेल प्रशासनले बताएपछि फेरि एकपल्ट नेपालीले रवि लामिछानेबारे स्पष्ट हुने मौका पाएका हुन् ।

अर्कातिर, राजावादीहरुको चलखेल २०८१ पुसदेखि नै थियो । पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ मा वक्तव्य दिएपछि भुईंमा न भाँडामा भएर उम्लिएको छाल चैत १५ गते पोखियो । जेन जीको आन्दोलनमा राजावादीको पनि घुसपैठ भएको कुरा सिसिटिभीले कैद गरेका फुटेज र विभिन्न व्यक्तिले खिचेका भिडियोबाट पनि प्रमाणित भएको छ। २४ गते उत्कर्षमा पुगेको स्थितिलाई नियन्त्रणमा लिन सेनालाई उकास्ने काम राजावादीले गरेको बताइन्छ । केही भन्दै थिए, ‘अब नारायणहिटीमा राजालाई ल्याउने हो । ३१ तोपको सलामीसहित राजाले ऊ बेला नासोको रूपमा दिएको मुकुट पहिर्याउने हो ।’

यस्ता कुरा भदौ २५ मै सुनिनु र विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सेनापति अशोकले भाउ दिएर भेट्नुले जनता झसङ्ग भए। त्यसैबीच जेन जी तर्फबाट ‘दुर्गा प्रसाईंसँग वार्ता हुँदैन’ भन्ने कुरा आएपछि जनताको मन मस्तिष्क शान्त भएको थियो । ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन’ भनेपछि सेना पनि हच्किएको अवस्था देखियो । अन्तरिम सरकार बन्ने भएपछि राजावादीहरु हिस्स परेका हुन् ।

नेपालीमा एउटा उक्ति छ– ‘बाह्र आनाको मसला एक पोटी लसुनले स्वाहा’ भनेझैँ, राष्ट्रिय स्वतन्त्र पार्टीको फुरफुर रवि नख्खु जेल फर्केपछि स्वाहा भएको छ। सुमना श्रेष्ठले राजीनामा दिएसँगै पहिरो जाने क्रम चलेको छ । तोसिमा कार्कीले संसद भवन जलाउन घुसपैठियालाई उक्साएको भिडियो सार्वजनिक भएसँगै उनीहरुको मुखुण्डो पनि उतारिएको अवस्था छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध धेरैजसो अवसरवादीहरू हिजो कांग्रेस थिए, पछि एमाले भए, माओवादीका खाँट्टी कार्यकर्ता हुँदै २०७९ पछि घण्टे बनेका हुन् । सामाजिक सञ्जालको चरम दुरुपयोग गर्ने तिनै थिए भन्ने कुरो सुमना श्रेष्ठकै मुखबाट आइसकेको छ। उनीहरूको पार्टी पनि सामाजिक सञ्जालमै टिकेको छ।

बरु जनताले थाहा पाउनुपर्ने कुरा के हो भने सामाजिक सञ्जालका कुरा कति पत्याउने? राजावादी भन्नेहरू आफैं मिल्न सकेका छैनन्। अब पनि ‘राजा आउँछन् र खाउँला पिउँला’ भनी नसोचे हुन्छ, किनकि यो लोकतान्त्रिक दुनियाँ हो । एक परिवार, एक संस्था, एक भाषा, एक धर्मको युग समाप्त भइसकेको छ ।

टिप्पणीहरू