हितेन्द्र हटाउन ठाडो प्रस्ताव, नेताको सुरक्षाबारे सरोकार
हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ । गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि गत फागुनमा कुलमान घिसिंगलाई हटाएर शाक्यलाई नियुक्त गरिएको थियो । सरकारले शाक्यको ठाउँमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई ल्याएको छ ।
हितेन्द्रलाई जल तथा ऊर्जा आयोगमा लगिएको छ । क्याबिनेट बैठकमा ‘शाक्यलाई नहटाइ भएन’ भन्ने विभागीय मन्त्रीको प्रस्तावपछि उक्त निर्णय भएको बताइन्छ ।
निर्दलीय सरकार गठनपछि गुपचुप रहेका राजनीतिक दलका नेताहरुबारे पनि चार सदस्यीय क्याबिनेटमा अनौपचारिक छलफल भएको स्रोतको दावी छ । विशेषगरी भूतपूर्व प्रधानमन्त्रीको समेत हैसियतमा रहेका ठूला दलका नेताहरुको अहिलेको अवस्थामा सुरक्षाकर्मी कटौतीबारे उठेको हल्लाबारे कुराकानी भएको हो । तर, ती दलका भ्रातृ संगठनको जालो, कार्यकर्ता संख्यालाई ध्यानमा राखेर उनीहरुलाई प्रदान गरिएको यसअघिको सुरक्षामा कमी हुन नदिने सहमतिमा प्रधानमन्त्रीसँगै मन्त्रीहरु पुगेका छन् ।
उता नयाँ परिवेशमा नेताहरु नसुध्रिएसम्म उनीहरुको पक्षमा माहौल नबन्ने पनि अधिकारीहरु बताउँछन् ।
टिप्पणीहरू