वैज्ञानिक शिक्षामा महिलालाई प्राथमिकता दिनुपर्नेमा चिनियाँ प्रथम महिलाको जोड
चिनियाँ राष्ट्रपति सी चिनफिङकी पत्नी तथा चीनकी प्रथम महिला तथा युनेस्कोकी विशेष दूत पेंग लियुवान र युनेस्कोकी महानिर्देशक ओद्रे अजो बेइजिङमा आयोजित युनेस्को बालिका तथा महिला शिक्षा पुरस्कार वितरण समारोह र पुरस्कार स्थापनाको १०औं वार्षिकोत्सवमा सहभागी हुनुभएको छ ।
पेंग र अजोले केन्या र लेबननका परियोजनालाई परियोजनाका प्रतिनिधिलाई सम्मान प्रदान गर्नुभएको छ । समारोहलाई सम्बोधन गर्दै पेंगले विगत दशकमा पुरस्कार विजेता र अग्रणी व्यक्तिहरूले महिलालाई सामाजिक विकाससँग अनुकूलन गर्न र व्यक्तिगत प्रगति हासिल गर्न सहयोग गरेको उल्लेख गर्नुभयो । शिक्षामार्फत महिलालाई सबलीकरण गर्ने अवधारणा विश्वबाट मान्यता प्राप्त भइसकेको उहाँको भनाइ छ ।
मानव समाज बौद्धिक युग प्रवेश गरिरहेको जनाउँदै पेंगले महिलाको वैज्ञानिक शिक्षामा अझै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । महिलाले नयाँ प्रविधि सिक्न, प्रयोग गर्न र नवप्रवर्तन क्षमता बढाउन सक्नुपर्ने उहाँको भनाइ थियो। चीनले महिलाको वैज्ञानिक शिक्षामा निरन्तर जोड दिएको र युनेस्कोसहित सहकार्यलाई गहिरो बनाउन इच्छुक रहेको पनि जानकारी दिइएको छ ।
अजोले चीन सरकारलाई युनेस्कोलाई दिएको सहयोगका लागि धन्यवाद दिँदै पेंग लियुवानले विश्वव्यापी बालिका तथा महिला शिक्षामा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । चीनसँगको सहकार्यलाई अझ विस्तार गरी भविष्यमा थप ठोस उपलब्धि हासिल गर्ने उहाँको अपेक्षा छ ।
कार्यक्रममा बेइजिङस्थित संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधि, चीनमा कार्यरत विभिन्न देशका कूटनीतिज्ञ, चिनियाँ तथा विदेशी शिक्षक–विद्यार्थी र शिक्षा क्षेत्रका सरोकारवालाहरू सहभागी थिए ।
सन् २०१५ मा चीन र युनेस्कोले संयुक्त रूपमा थालेको यो पुरस्कारमार्फत हालसम्म १९ देशका २० परियोजना सम्मानित भइसकेका छन् ।
टिप्पणीहरू