जसले सेनाको गोली खाएर जेलमै फाले ज्यान

जसले सेनाको गोली खाएर जेलमै फाले ज्यान

सार्वजनिक सम्पत्तिमा आगो झोस्न जाने १० लाख क्षतिपूर्ति, अरुसरह बाहिर निस्कन खोज्दा बिनाकारण गोली हानेर मारिएका कैदीबन्दीलाई कति ? 

सहकारी ठगीको अभियोगमा नख्खु कारागार चलान भएका रास्वपाका सभापति रवि लामिछाने भीडको बलमा निस्किएका थिए । उनी निस्किएपछि अन्य कारागारमा पनि भागदौड मच्चियो । पूर्वउपप्रधान तथा गृहमन्त्री भएकैले उनलाई छोडिएको भन्दै देशभरका कारागारमा विरोध भयो । सुरक्षाकर्मीले रोक्न खोज्दा ‘रविलाई छोड्ने, हामीलाई मात्र किन थुन्ने ?’ भन्दै तोडफोड शुरु भयो । रविकै कारण देशभरका २६ वटा कारागारबाट १३ हजार बढी कैदीबन्दी भागे । हालसम्म झण्डै तीन हजार फर्किएका छन् । यता, कारागारमा भागदौड हुँदा दर्जनौं बन्दी घाइते भएका छन् भने सेनाको गोली लागेर चार जनाको ज्यान गएको छ । 

रामेछापमा दुई र धादिङमा दुई जनाको मृत्यु भएको हो । धादिङमा मर्ने दुईमध्ये एक वृद्ध र एक युवा छन् । १० वर्ष मुनिको बालिकालाई जबरजस्ती करणी गरेबापत जेल चलान भएका बेनिघाट रोराङ गाउँपालिकाका ८० वर्षीय जीतबहादुर घलेलाई सेनाले गोली हानेकोमा उनको घटनास्थलमै मृत्यु भयो । मृत्युपश्चात् पनि परिवारका कुनै सदस्य शव लिन आएनन् । यता, एक जना मजदुरको पनि गोली लागेर मृत्यु भयो । 

लागुऔषध मुद्दामा कारागार चलान भएका ३६ वर्षीय इन्द्रबहादुर डाला लेबरको काम गर्थे । अर्काको गाँजा लिएर हिँडेका उनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । दुई वर्ष कैद सजायँँ र दुई लाख रुपैयाँ जरिवाना तोकिएकोमा धरौटीमा छुटेका थिए । धरौटी फिर्ता आउने भएकाले पुनः जेल गएका उनको मंसिरमा रिहाइ हुँदै थियो । 

तर, बाहिर निस्किन दुई महिना बाँकी रहेका उनैलाई गोली हानेर मारियो । गोली लागेपछि अस्पताल लैजानुको साँटो एउटा कुनामा लगेर राखिएको थियो । स्रोतका अनुसार उनको सानो छोरा शव बुझ्न आएका थिए । त्यहीँ रहेका एक कैदीलाई गोली लागेकोमा उनको उपचार भइरहेको छ । आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सुशीला कार्की नेतृत्वको सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र शहिद घोषणा गर्ने भनेको छ । तर, सरकारले जेलमा सुरक्षाकर्मीहरूले गोली हानेर मारेकाको हकमा केही भनेको छैन । कारागारमा भएकाको जनधनको सुरक्षा गर्नु सरकारको दायित्व हो । तर, सरकारबाटै उनीहरूलाई गोली ठोकेर मार्ने काम भएको छ । राज्यले उनीहरूलाई आन्दोलनका क्रममा मरेकालाई दिएकोभन्दा दोब्बर क्षतिपूर्ति दिनुपर्ने एक अधिवक्ता बताउँछन् । कारागारभित्र गोली हान्नु एकदमै संवेदनशील विषय भएको ती अधिवक्ताको भनाइ छ । 

भन्छन्, ‘कारागारभित्र भएकाको सुरक्षा राज्यले गर्नुपर्छ । तर, राज्यबाटै गोली ठोकेर मार्ने भएको छ । उनीहरू आगजनी र तोडफोड गर्न गएका थिएनन् । अन्य कारागारबाट कैदीबन्दी निस्किएपछि बल्ल निस्किन खोजेका हुन् । त्यति निहुँमा कारागारभित्रै गोली ठोकेर मार्न पाइँदैन, उनीहरूको परिवारलाई झन् बढी क्षतिपूर्ति दिनुपर्छ ।’ कारागार व्यवस्थापन विभागका सूचना अधिकारी शाखा अधिकृत सन्देशप्रसाद जोशीले कैदीबन्दीलाई क्षतिपूर्ति दिने व्यवस्था नभएको बताए । ‘कारागार ऐन, २०७९’ ले त्यस्तो कुनै पनि व्यवस्था नगरेको उनको भनाइ छ । जनआस्थासँग उनले भने, ‘ऐनमा क्षतिपूर्ति दिने व्यवस्था छैन । त्यसैले उहाँहरूले क्षतिपूर्ति पाउनुहुन्न । बरु, जेलबाट भागेकोलाई पाँच वर्ष र भाग्न प्रोत्साहन गर्नेलाई थप तीन वर्ष कैद सजायँ हुने व्यवस्थाचाँहि छ ।’

(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू