जताततै दनदनी बलेको भवन, त्रासमा सर्वसाधारण
भदौ २३ र २४ गतेको जेन–जी ध्वंसात्मक गतिविधिमा मुलुकका सार्वजनिक सम्पत्तिहरु खरानीमा परिणत भएको छ । राजधानीको माइतीघर मण्डलाबाट शुरु भएको शान्तिपूर्ण आन्दोलन एकाएक उग्र बनेकोमा सार्वजनिक सम्पत्तिहरु आन्दोलनकारीको निशानामा पर्यो ।
प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारसहित संघीय सरकारअन्तर्गत २३० भन्दा बढी भवन जलेका छन् । विधायकी केन्द्र संसद् भवन, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री निवास, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, यातायात व्यवस्था विभाग, भैसेंपाटीस्थित मुख्यमन्त्री र मन्त्री निवास, सडक विभागलगायत सयौं सरकारी कार्यालय ध्वस्त भएको छ ।
दिउँसो आगो लगाइएकोमा दमकल नपुग्दा रातभर सिंहदरबार जलेको थियो । त्योसँगै अन्य भवनहरु पनि दनदनी बलेको थियो । हाल तिनै जलेको भवनलाई रंगरोगन गरेर सेवा सुचारु गर्ने तयारी भइरहेको छ । शहरी विकासमन्त्री कुलमान घिसिङले तत्कालका लागि ती संरचनामा रंगरोगन गर्ने बताएका छन् । दशैं अगावै रंगरोगन गरेर ती भवन सञ्चालनमा ल्याउन निर्देशन दिइएकोमा आजदेखि अर्थ मन्त्रालयमा रंग लगाउन थालिएको छ ।
यता, शहरी विकास मन्त्रालयमा हिजोदेखि रंग लगाउने काम शुरु भएको छ । अन्य मन्त्रालयमा पनि धमाधम रंग लगाइँदैछ । तर, गम्भीर प्रश्न–आगोले खोक्रो बनाइसकेको ती भवनको अवस्था के छ ? के ती घर बस्न लायक छ ? भन्ने हो । सिंहदरबार बाहिरबाट ठडिएकै अवस्थामा रहेतापनि भित्र खण्डहर बनिसकेको छ । त्यसैले सो भवन मर्मत मात्र गरेर सञ्चालन गर्न सम्भव देखिँदैन ।
अन्य भवनको अवस्था पनि त्यस्तै छ । भूकम्पको सानो धक्का आएपनि ती भवन कोल्याप्स हुने देखिन्छ । सिंहदरबारभित्र गृह मन्त्रालयमा सर्वाधिक क्षति पुगेको छ । तर, सो भवनमा पनि रंग लगाइँदैछ । गृहका सूचना अधिकारी उपसचिव रविन्द्र आचार्यले रंग लगाउन थालिएको बताए । जनआस्थासँग उनले भने,‘गृह त ध्वस्त छ । अहिलेसम्म कति क्षति भयो भन्ने यकिन विवरण नै आएको छैन । हामी हलमा सरेका छौं । त्यो भवनमा रंग लगाउन थालिएको छ ।’
बाहिरबाट रंग लगाएर चिटिक्क बनाएताभित्र भित्रबाट खोक्रो बनिसकेका ती भवनमा बस्न डरमर्दो छ । हेर्दा केही नभएकोजस्तो देखिएतापनि आगजनीबाट कंक्रिट, बिम कमजोर बनिसक्ने हुनाले प्राविधिक जाँचबिना बस्न नहुने जानकारहरु बताउँछन् ।
अदालतको भवनमा रातो स्टिकर
आन्दोलनकारीले दनदनी बालेको सर्वोच्च अदालतको भवनमा खरानीबाहेक केही छैन । त्यहाँ भएको सामानदेखि लिएर मिसिलसम्म जलेको छ । जसका कारण हाल टेन्ट हालेर काम शुरु गरिएको छ । अदालतका सहायक प्रवक्ता उपरजिष्ट्रार निराजन पाण्डेले सो भवनको प्राविधिक चेकजाँच भइसकेको बताए । उनका अनुसार भवनको एकातर्फ रातो र अर्कोतर्फ पँहेलो स्टिकर टाँसिएको छ ।
‘भवनको एकातर्फ रातो र अर्कोतर्फ पहेँलो स्टिकर टाँसिएको छ । पहेँलो स्टिकर टाँसेकोतर्फ सामानहरु राखेका छौं । टेण्टबाट काम गर्नुपर्दा समस्या भइरहेको छ । सर्वोच्चको नयाँ भवन बनिरहेको छ’,उनले भने । यता, काठमाडौं जिल्ला अदालतमा रातो स्टिकर टाँसिएको छ । प्राविधिक जाँचका क्रममा भवन जोखिमपूर्ण रहेको पाइएपछि नेपाल ईञ्जिनियर्स एशोसिएशनले रातो स्टिकर टाँसिदिएको हो ।
काठमाडौं जिल्ला अदालत पुरानो भवनबाट नयाँ भवन सरेको लामो समय भएको छैन । तर, दुई दिने आन्दोलनमा सो भवनमा ठूलो क्षति पुगेको हो । अन्य भवनमा पनि धमाधम प्राविधिक चेकजाँच गरेर स्टिकर लगाउने क्रम जारी छ ।
सशंकित काठमाडौंबासी
जताततै जलेका भवनका कारण यतिबेला काठमाडौं उपत्यका एकदमै जोखिमपूर्ण बनेको छ । आगोले कमजोर बनाएका भवनहरुले घेरिएकाले काठमाडौंबासी संशकित भएका छन् । केही घटना भई पो हाल्ने होकि भनि उनीहरु डराएका छन् ।
केन्द्रसँगै प्रदेशमा पनि धमाधम चेकजाँच
शहरी व्यवस्थापन तथा भवन निर्माण विभाग, नेपाल ईञ्जिनियर्स एशोसिएशनले समन्वय गरेर धमाधम केन्द्रसँगै प्रदेशको सरकारी भवनहरुको प्राविधिक चेकजाँच गर्न थालेको छ । सिंहदरबार, अदालत, प्रहरी कार्यालयहरुको भवन चेकजाँच भइरहेको एशोसिएशनका अध्यक्ष ईञ्जिनियर सुवासचन्द्र बरालले बताए । उनका अनुसार काठमाडौंमा दैनिक ५० देखि ६० जनाको टोली खटिएर भवनहरुको परीक्षण गरिरहेका छन् ।
बाहिरबाट भवन ठीकठाक देखिएतापनि भित्रबाट ड्यामेज भइसकेको हुने उनी बताउँछन् । विभागसँगको समन्वयमा भवन चेकजाँचका लागि हिजो गाइडलाइन बनाएको उनले जानकारी दिए । ‘धेरै भवन जलेको छ । सरकारसँगको समन्वयमा धमाधम ती भवनको प्राविधिक चेकजाँच भइरहेको छ । आगलागी सानै भएतापनि त्यसले भवनलाई कमजोर बनाउने भएकाले प्राविधिक चेकजाँच गरेर मात्र बस्नुपर्ने हुन्छ’,उनले भने ।
उनका अनुसार ईञ्जिनियरहरुलाई प्राविधिक चेकजाँचका लागि धमाधम तालिम दिने काम पनि भइरहेको छ । अदालतमा लागेको आगोले आफूलाई आश्चर्यचकित बनाएको अध्यक्ष बराल बताउँछन् । टार्गेट नै गरेर मिसिल भएको ठाउँमा ह्वारह्वारती आगो लगाएकोजस्तो देखिएको उनको जिकिर छ । कागजहरु जलेकाले अदालतमा धेरै क्षति पुगेको उनको भनाइ छ ।
कुन स्टिकरले के जनाउँछ ?
अध्यक्ष बरालका अनुसार रातो स्टिकरले भवन जोखिमपूर्ण रहेको जनाउँछ । पहेँलोले बस्न लायक र हरियोले सबै ठीकठाक भएको जनाउने उनको भनाइ छ । तर, रातो स्टिकर टाँस्नुको अर्थ घर भत्काउनै पर्ने नभएको उनले बताए । त्यसलाई पछि प्राविधिक चेकजाँच गरेर मर्मत गरिने छ ।
न्छन्,‘रातो स्टिकर टाँस्नुको अर्थ घर भत्काउनैपर्छ भन्ने होइन । त्यो भनेको हाललाई प्रयोग गर्न नमिल्ने हो । केही समयपछि हामी भवनको पाट्र्सहरुको अध्ययन गर्छौं । अनि मर्मत हुन्छ । काठमाडौं जिल्ला अदालतको बेसमेण्ट जलेको छ, माथि केही भएको छैन । तलको भाग जल्दा माथिपनि कमजोर हुने भएकाले रेड स्टिकर टाँसिएको हो ।’
टिप्पणीहरू