मन्त्रीको कार्यकक्ष हटाउन कुलमानको निर्देशन
ऊर्जामन्त्री कुलमान घिसिङले रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा बनाइएको मन्त्रीको कार्यकक्ष तत्काल हटाउन निर्देशन दिएका छन्। उनले यसअघि मन्त्रीको लागि बनाइएको उक्त कार्यकक्ष प्राधिकरणकै कामकाजका लागि प्रयोग गर्न सुझाएका हुन् ।
घिसिङ प्राधिकरणको प्रबन्ध निर्देशक हुँदा तत्कालीन ऊर्जामन्त्री दिपक खड्काले दबाब बढाउन प्राधिकरणमा आफ्नो लागि छुट्टै कार्यकक्ष बनाएका थिए। तर नवनियुक्त ऊर्जामन्त्री घिसिङले उक्त कार्यकक्ष हटाएर प्राधिकरणकै लागि प्रयोग गर्न भनेका हुन्।
उता, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सामाजिक सञ्जालमार्फत् घिसिङलाई ऊर्जामन्त्री बनेकोमा बधाई दिएका छन्। हाल विदेश भ्रमणमा रहेका शाक्य पर्सि नेपाल फर्कने कार्यक्रम छ । हिजो घिसिङले ऊर्जामन्त्रीको पदभार ग्रहण गर्दा शाक्यको उपस्थिति नदेखिएपछि सोधखोज भएको थियो । उनी दुई हप्ताको लागि विदेश भ्रमणमा गएका हुन् ।
‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ’, शाक्यले बधाई दिदै भनेका छन्, ‘सफल कार्यकाल र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना साथै सम्पूर्ण ऊर्जा क्षेत्रको सफलतासहितको समृद्ध नेपालको हार्दिक मंगलमय कामना व्यक्त गर्दछु।’
टिप्पणीहरू