ठूला दलहरू सबै एकै ठाउँ

ठूला दलहरू सबै एकै ठाउँ

संघीय संसदमा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले प्रतिनिधिसभा विघटन अस्वीकार्य रहेको बताएका छन् । 

नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रसहित विभिन्न आठ दलका प्रमुख सचेतकहरूले आज अपराह्न संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले हिजो मध्यराती गरेको प्रतिनिधिसभा विघटनको निर्णयप्रति आपत्ति प्रकट गरेका हुन् । जेनजी आन्दोलनको मर्मविपरीत असंवैधानिक तथा अलोकतान्त्रिक ढंगले संसद विघटन गरिएको उनीहरुको ठहर छ ।  

'नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्मविपरीत अलोकतान्त्रिक तथा असंवैधानिक ढङ्गले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभा विघटन गरिएको छ', वक्तव्यमा भनिएको छ ।

लोकतान्त्रिक र कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानुनबमोजिम हुनुपर्नेमा जोड दिँदै दलहरूले सबै निकाय संविधान र कानुनबमोजिम सञ्चालन हुनुपर्छ भन्ने साझा मत जाहेर गरेका छन् । 

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र र संविधानसभाबाट जारी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदमलाई कुनै पनि मूल्यमा स्वीकार्न नसकिने चेतावनीसमेत दिइएको छ ।

साझा वक्तव्यमा प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिई तत्काल संसद्को बैठक बोलाई जननिर्वाचित संस्थाबाटै आन्दोलनकारीका माग सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गरिएको छ ।

टिप्पणीहरू