सबै कम्युनिस्टलाई मिल्न सुझाव
मुलुकमा विकसित पछिल्लो घटनाक्रमलाई लिएर नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले धारणा सार्वजनिक गरेका छन् । नेतृत्वको नालायकीले देश गम्भीर संकटमा परेको भन्दै सबै कम्युनिष्ट शक्तिहरुलाई खुला छलफलमा उत्रन उनको आह्वान छ ।
आज दिउँसो एक वक्तव्य सार्वजनिक गर्दै भुसालले एमाले र माओवादी स्कुलिङबाट हुर्केका सबै कम्युनिष्ट घटकहरू एकतावद्ध भएर साझा संकल्प हुनुपर्नेमा जोड दिएका छन् ।
'हाम्रो विचार एउटै हो,नेताहरुका स्वार्थको खरानी रेखाले मात्रै हामीलाई विभाजित गरेको छ,हामी एक ठाउँमा उभिन्छौँ भनेर सङ्कल्प गर्नासाथ एउटा ऐतिहासिक राजनीतिक शक्ति जन्मिन्छ', भन्छन्, 'इतिहासको यस कालखण्डमा केवल एउटा सङ्कल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ ।'
लोकतान्त्रिक गणतन्त्रले खोजेको जिम्मेवार र नैतिक मूल्यको नेतृत्वको अभावमा मुलुकले यो अवस्था व्यहोर्नुपरेको ठहर भुसालको छ । पार्टीहरुलाई बिर्ता बनाएर नेताको रजाईँ चल्न दिएको नालायकीको मूल्य आज देशले तिरिरहेको उनले बताएका छन् ।
'इतिहासको यस कालखण्डमा केवल एउटा सङ्कल्पको खाँचो छ, हामीलाई विभाजित गर्ने ती सबै बन्धन चुँडाल्न तयार होऔँ ।'
'राम्रो पार्टी बन्यो भने आफ्नो सुविधा र पद खोसिने डर भएका मानिसहरु पार्टी नेतृत्वमा भर्ति गर्दै जाँदा पार्टी नेतृत्वको बहुमत नै यथास्थितिको पक्षमा उभिने अवस्था बन्यो', भुसाल भन्छन्, 'प्रश्न उठाउने तल्लो पंक्तिका असङ्ख्य कार्यकर्ताहरुको आवाज सबैजसो पार्टीका तथाकथित केन्द्रीय कमिटीहरुमा अल्पमतमा परिरह्यो । जसको एकमुष्ठ परिणामस्वरुप हामी आफ्नै इतिहासको भग्नावशेषका डिलमा उभिएर यो सारा विध्वंशमा नजर डुलाउँदै छौँ ।'
भदौ २३ गते सरकारले जेनजी आन्दोलनकारीमाथि गरेको दमनलाई उनले नेपाली इतिहासकै सर्वाधिक कायरतापूर्ण बर्बरता भनेका छन् । त्यस्तै, २४ गते भएको तोडफोड, आगजनी,लुटपाटलाई शैतानी ताण्डव नृत्यको संज्ञा दिँदै नेपाल–अङ्ग्रेज युद्धमा बेलायती फौजले तराईका बस्तीहरुमा गरेको बर्बरतापूर्ण आक्रमणभन्दा पनि भयानक भएको बताएका छन् ।
'यसबाट प्रत्यक्ष देखिएको राष्ट्रिय क्षतिको घाउ जति असह्य छ त्यसभन्दा बढि यी घटनाले अदृष्य ऐठनका रुपमा दशकौँसम्म हाम्रा सन्तान दरसन्तानलाई झस्काइ रहने छ', भुसालको ठहर छ ।
यो घटना सरकारको दुर्बुद्धिका कारणले मात्रै भएका नभई सत्तासिन खलनायकका बेबकुफीमाथि सुनियोजित षडयन्त्रकारीहरुले कलमी गरेर फलाएको हलाहल विष थियो भन्ने स्पष्ट हुँदै गएको उनको भनाइ छ ।
'यसक्रममा हाम्रा अग्रजहरु र हामी आफैले सदियौँ/दशकौँदेखि निर्माण गरेका देशभक्ति,लोकतन्त्र र सामाजिक न्यायका मूल्यहरुमाथि जुन खेलबाड हुँदैछ त्यसले वाम–लोकतान्त्रिक आन्दोलनमा हुर्केका लाखौँ इमान्दार सदस्य तथा समर्थक-शुभचिन्तकहरुमा कहिल्यै नब्यहोरिएको पीडा,ग्लानी र छटपटी उत्पन्न गरेको छ', वक्तव्यमा उल्लेख छ ।
टिप्पणीहरू