जेन जी लिडर नौ घण्टादेखि कुरेको कुर्यै
अन्तरिम सरकार गठनबारे छलफलमा बोलाइएका भनिएका जेन जी समूहका नेता सुदन गुरुङले भेटका लागि शीतल निवासमा नौ घण्टादेखि कुरिरहेको बताएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलले नौ घण्टादेखि आफूलाई कुराइरहेको गुनासो गरेका छन्।
राष्ट्रपति पौडेलले बिहानै छलफलका लागि बोलाए पनि अहिलेसम्म भेट नभएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । ‘राष्ट्रपति ज्यूले बोलाउनुभएको हो, तर अहिलेसम्म भेट भएको छैन, म अझै पनि कुरिरहेको छु,’ गुरुङले उल्लेख गरेका छन् ।
‘हामी नेपाल’ गैरसरकारी संस्थाका गुरुङले आफू मध्यस्थकर्तामार्फत् नभएर राष्ट्रपतिसँग स्वयम् आफूले प्रत्यक्ष छलफल गर्ने अडान लिँदै आएका छन् । उनले एकल छलफल पनि नगर्ने स्पष्ट पारेका छन्।
गुरुङले संसद् विघटनको घोषणा र पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने माग यथावत रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलसँग भेट भएपछि छलफलका विषयमा विस्तृत जानकारी दिने बताएका छन्।
टिप्पणीहरू