आज पनि हात हालाहाल
संसद विघटनविरुद्ध आवाज उठाउँदै आएका जेन जी युवाहरुबीच हात हालाहाल भएको छ । डा. रामेश आचार्य नेतृत्वको समूहबीच पत्रकार सम्मेलन क्रममै कुटाकुट भएको छ ।
सुदन गुरुङ समूहका युवाहरुले अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि सार्दै संसद विघटनको माग राखेका छन् । तर आचार्य समूहका युवाहरुले भने संसदबाट संविधान संशोधन गर्नुपर्ने आवश्यकता देखिएको जनाउँदै कुनै पनि हालतमा विघटन गर्न नहुने माग राख्दै आएका छन् ।
उक्त समूहले संसद विघटनविरुद्धको आवाज सुनाउन आज रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेका थिए । सो क्रममा केही युवाहरुले ‘पहिले तपाईं नेविसंघको सदस्यता छोड्नुस्’ भनेपछि होहल्ला भएको थियो । अन्य केही युवाहरुले ‘यहाँ राजनीति गर्न आएको हैन, आफ्नो कुरा राख्न आएको हो’ भन्दै हल्ला कम गर्न आग्रह गरे । तर विवाद चर्किदै गएपछि एउटै समूहका युवाहरू पनि हात हालहालमा उत्रिएका हुन् ।
को कार्यकर्ता, को जेनजी भन्ने विषयमा विवाद हुँदा लफडा भएको बुझिएको छ । हिजो पनि सैनिक मुख्यालय परिसरमा युवाहरुबीच कुटाकुट भएको थियो ।
टिप्पणीहरू