मदन माओ, ओली देंग बन्लान् त ?

मदन माओ, ओली देंग बन्लान् त ?

जेन्जी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनको प्रदर्शनी हुनु अघिल्लो साँझ सकिएको एमाले दोस्रो विधान महाधिवेशनको चर्चा दुई कार्यकाल र सत्तरीवर्षे उमेर हद पूरा गरेपछि एमाले अध्यक्ष बन्न पाउने वा नपाउनेमा सिमित राख्न खोजीए पनि विधान महाधिवेशन एमाले संरचना र सोचमा उथलपुथल ल्याउने गरी सकिएको छ । पछिल्लो आमनिर्वाचनमा सबैभन्दा बढी मत पाएको र हाल सरकारको नेतृत्व गरिरहेको सत्तासीन पार्टीको विधान महाधिवेशनलाई चियाको कपमा उठेको आँधिको रुपमा नारायणहरि बनाउन चाहनेहरुलाई ठण्डाराम पारिदिएपछि सर्वत्र चकमन्न छाएको छ । साउने झरी र भदौरे भेलसंग लाक्पा खेलेर राजधानी छिरेपछि ललितपुरको गोदावरीस्थित हलमा जम्मा भएका अढाइ हजार भन्दा बढी सत्तासिन पार्टीका प्रतिनिधि÷पर्यवेक्षकले गरेको निर्णयले एमालेलाई मात्र होइन, पूरै मुलुकलाई लामो समय प्रभाव पार्ने कुरामा दुइमत छैन ।

सुनियोजीत हो–हल्ला मच्चाएर जनतालाई रनभुल्लमा पार्न सकिन्छ भन्नेहरु फेरि एक पटक बल्ड्यांग खाएका छन् । एमाले अध्यक्ष केपी शर्माओलीले भर्खरै सकिएको विधान महाधिवेशनमार्फत पार्टीमा आफ्नो संख्यात्मक पकडलाई गुणात्मक फड्को मारेर एमालेलाई नयाँ चरणमा प्रवेश गराउन सफल भएको देखिदैछ । उनले देशभरिका नेताकार्यकर्तालाई भेला गरेर एमालेको नीति, विधि–विधान नै परिवर्तन गरिदिएका छन् । संगठनको स्वरुपलाई बदलेर छिटो छरितो अनि चुस्त दुरुस्त र व्यवहारिक स्वरुप दिने योजनालाई प्रतिनिधिहरु मार्फत अनुमोदन गराएका छन् । राजनीतिशास्त्रका एक प्राध्यापकले त मुखै फोरेर भने यो त चीनमा माओको मृत्युपछि देंग सियाओपिंगले माओत्सेतुंगलाई सर्वसम्मत नेता बनाएर चीनीयाँ कम्युनिष्ट पार्टी र सरकारलाई आधुनिकीकरण गर्न लिएको आधारभूत निर्णय जस्तै गरी एमालेलाई प्याराडमसिफ्ट गर्न लागेका त होइनन् ? जसको प्रभाव थाहा पाउन राजनीतिमा सामान्य चासो राख्नेले समेत केही समय कुर्नै पर्नेछ । 

प्राध्यापकको कुरो झट्ट पत्याउन मैं हूँ भन्ने राजनीतिकर्मीहरुलाई पनि पानी पिउनु पर्ने भएको छ । तोर्पे बुद्धिजीवीहरुले त हजमोला नखाइ यो सत्य पचाउन सक्ने नै देखिदैन । विचराहरु रनभुल्लामा रिंगीरहेका छन् । संझना सिनेमामा किरण प्रधानले गाएको ‘के सोचे मैले, के भयो ऐले’ भन्ने गीत गुनगुनाउनुको विकल्प देखिदैन ।

के भयो विधान महाधिवेशनमा ?

महाधिवेशनका एक सहभागीका अनुसार २०७५ सालमा एमाले–एमाओवादी एकता गरेर बनाइएको नेकपा नेतृत्वको असंभार आकार र भद्रगोल संगठन, वैचारिक अस्पष्टता र त्यसको केन्द्रीय समितिको संख्याको प्रभावलाई विधानमा संशोधन गरेर एमालेलाई छिटो, छरितो र चुस्त संगठनात्मक स्वरुप दिन विधान महाधिवेशन सफल भएको छ । यसले एमालेको लम्बेतान पद्धति र प्रकृयालाई पूरै रुपान्तरण गरिदिएको छ । गनिनभ्याइने सचिवालय सदस्यहरुलाई ब्यापक कटौती मात्र गरिएको छैन कि उपाध्यक्षहरुको संख्यालाई आधै घटाइएको छ । वरिष्ट उपाध्यक्ष जस्तो मानका खातिर मानको पद नै उन्मूलन गरिएको छ । गज्जव त के भने, कम्युनिष्ट  नामधारी पार्टीमा स्थायी समिति नराखी नहुने चलनलाई चंगाचैट पारेर सचिवालयमै त्यसलाई बिलाइएको छ । अब एमालेमा स्थायी समिति रुपी गलगाँण रहेन, जसमा बसेर माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले सधैं गनगन र मान खोज्ने मात्र होइन कि अलिकति तलमाथि भयो भने गुट उपगुट सिर्जना गरिहाल्ने गर्दथे । अब न रहे बाँस, न बजे बाँसुरी !

त्यतीमात्र होइन, विधान महाधिवेशनले अहिलेसम्मका बामपन्थी संगठनका अनुभव र संगठनात्मक संरचनाबीच रहेको खाडललाई पुर्ने काम पनि गरेको छ । पार्टी एकातिर अध्यक्षात्मक पद्धतिमा रहेको छ तर अर्कोतिर कम्युनिष्ट धङ्खधङ्खीको रुपमा रहेको मध्ययुगीन महासचिव, उपमहासचिवको पदलाई पनि कायम गरेर सत्ता संघर्षको विजारोपणलाई पनि विधानबाट हटाइएको छ । त्यसको बदलामा देश संघीय संरचनामा गएको कुरालाई मध्यनजर राखेर सातवटा प्रदेशलाई हेर्ने जिम्मेवारी सात जना सचिवको नयाँ व्यवस्था कायम गरिएको छ । जो जो सचिव हुनेछन्, उ उसले आफ्नो प्रदेशमा पार्टीको प्रमुखको जिम्मेवारी लिनु पर्नेछ । भनौन, पार्टीका प्रदेश प्रमुख झैं पूरै जिम्मेवारी लिएर काम गर्नुपर्नेछ । यसले आफ्नो जिम्मेवारी कहिल्यै पूरा नगर्ने तर ठूलाठूला कुरा गरेर हिड्ने गफाडी, खुराफाती र कुरौटे सचिवलाई जिम्मेवार बनाउने छ । जो बन्दैन, उ नारायणहरि हुने छ ।

विधान महाधिवेशनले गरेका उल्लेख्य निर्णय हुन् यी, ती सहभागीले भने । उनले अगाडि बताए, यतिमात्र होइन एमालेको पूरै संरचना प्रदेश, जिल्ला, पालिका, वडा, टोल समितिसम्म संगठनलाई नयाँ स्वरुपमा ढाल्ने निर्णय गरेको छ । यसले कामचोर, काम कम ज्यादा माम गर्नेहरु लगायत नेताका ढोकाढोका चाहार्ने ठेकेदार, तस्कर, दलाल, कमिशनखोरका पछाडि लागेर पार्टी र जनसंगठनहरुलाई दुहुनो गाई बनाउदै भ्रष्टाचार, भनसुन, चाकरी गर्ने अनैतिकहरुलाई औंल्याउने अपेक्षा गरिएको छ । विधान अधिवेशनले अरु पनि धेरै दूरगामी निर्णहरु गरेको छ । अहिले उल्लेख गरिएका बूँदा सिनेमाको काष्टिंग जस्ता मात्र हुन् । 

ओलीको नयाँ अभ्यास !

एमाले अध्यक्ष केपी ओलीलाई जति हलुका गरी टिप्पणी गरिने गरिन्छ वास्तवमा ओली बिधान महाधिवेशनमा ज्यादै गह्रुगाे अभ्यासकर्ता बनेर देखापरेका छन् । पार्टीको सर्वोच्च नेताको रुपमा उनको यो दोस्रो कार्यकाल हो । उनले तेस्रो कार्यकालको लागि मार्ग प्रसस्त गर्ने सफलता पाएका पनि छन् । सत्तरी वर्षे उमेर र दुई कार्यकाललाई लम्ब्याउन पाउने गरी विधान संशोधन भएको छ । 

वास्तवमा केपीको पहिलो कार्यकाल ज्यानमारा भारतीय नाकाबन्दी, कोभिड र कम्युनिष्ट आन्दोलनलाई भीमकाय बनाउन माओवादीसंग एमाले एकता गरेपछि प्रचण्ड, माधव, बामदेवहरुले नेतृत्व हत्याउन गरेका षडयन्त्रहरुसंग जुद्धाजुद्धै उनले संगठनात्मक चेतलाई अगाडि बढाउने समय नै पाएनन् । उनको दोस्रो कार्यकाल नेकपा फुटाएर प्रचण्डहरुले कोमामा पु¥याएको एमालेलाई संहाल्नु, आमचुनावमा एमालेलाई जिताउनु, चारैतिरबाट भएको आक्रमणलाई निस्तेज पार्नु अनि सरकारको नेतृत्व गरेर आपूmलाई दृढतापूर्वक उभ्याउने घनघोर चुनौति उनी सामू थियो । यतिखेर ओली खारिएको नेताको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय मन्चहरुमा ठडिएका छन् । देखिन मात्र होइन, सुनिन पनि थालेका छन् । उनको गणना भर्खरै चीनमा भएको संघाइ सम्मेलनमा राजनेताको रुपमा भएको छ । उनी राजनीतिक दर्शन, आजको विचार, सिद्धान्त, आदर्श, मूल्यमान्यता, रणनीति, कार्यनीति जस्ता औजारहरु देशमा सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायलाई प्रत्याभूत गराउन लागेका छन् । 

उनी द्वन्दात्मक भौतिकवादी स्कूलिंगका अनुयायी भएकाले के कुरा स्वीकारिनु पर्छ भने माक्र्सवादमा उज्यालोसंगै अँध्यारोले पनि स्थान पाउछ । जसरी मध्यान्ह नहुन्जेलसम्म अध्याँरो पनि संगसंगै हुन्छ । अहिले पनि राज्यसत्ताको नेतृत्व ओलीले गरिरहँदा पार्टीमा विचौलीया, डन, अपराधी, माफिया, दलाल, ठेकेदार, ठग, गुण्डा, लुटेरा नटवरलालहरुको प्रभाव कहीं न कहीं देखिइरहेको छ र राज्य संयन्त्रलाई विथालीरहेको पनि छ । यो कुरा ओलीलाई जति अरु कसलाई थाहा होला ? जो राणा, शाह, बहुदलमा थियो र संघीय गणतन्त्रमा पनि संगसंगै छ । प्रभाव जमाइरहेकै छ । 

अहिले विधान महाधिवेशनमार्फत ओलीले जुन विचार र कार्यक्रम स्थापित गर्न खोजेका छन्, अब उनको अगाडि त्यसलाई मध्यान्हको उज्यालोमा ल्याएर छोड्ने कि अन्धकारको खाडलमा जाक्ने, सफलता र असफलता उनकै नेतृत्वमा निहित देखिन्छ । विधान महाधिवेशनमा मदन भण्डारीलाई माओत्सेतुंगको जस्तै सर्वोच्चस्थानमा विराजमान गराएर मदनकै जबजका चौध सिद्धान्तलाई आधार बनाउदै उदारवादी पूँजीवादी प्रजातन्त्रवादी नेपाली कांग्रेससंग डेढ वर्षदेखि सहकार्य गरेर केपी ओली संयुक्त सरकारको नेतृत्व गरिरहेका छन् । पाँचवर्षको पूर्ण कार्यकालको सरकार अहिलेसम्म नेपालको इतिहासमै टिक्न नदिइएको कुरा ओलीले मनन गरेर नै हुनुपर्छ एक्लै होइन कार्यगत एकता गरेर अगाडि बढ्ने निर्णयमा पुगेका हुन् । अहिलेसम्म कसैले पनि संभव हुने कल्पना पनि नगरेको निर्णयमा पुग्ने जुनआँट उनले गरे त्यो आफैंमा जति दूरगामी महत्वको छ, त्यसभन्दा कम छैन देंग मोडलको नेपालमा श्रीगणेश ! गरीवी, बेरोजगारी, विपन्नता, अविकास जस्ता चुनौतिसंग जुध्न नसकेर थलिइरहेको नेपालमा स्थिर सरकार र सुष्पष्ट कार्यक्रम मार्फत मुलुकमा सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायको लागि हातेमालो गर्दै अगाडि नबढ्ने हो भने देशको अवस्था दयनीय हुनेमा ओलीलाई भ्रम रहेन ।

त्यसैले कसले के भन्छ, के आरोप लगाउछ त्यतातर्फ ध्यान नै नदिइ कठोर बनेर उनले उदारवादी पूँजीवादी, वामपन्थी र समाजवादी सोच राख्नेहरुबीच गरेको एकताले देशमा राजनीतिक स्थिरता दिनुपर्छ । सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायको लागि केही गर्नै पर्छ । केपी ओलीले डिपार्चर गरेको कुरा बुझ्न अब गाह्रो छैन । अहिले उनी सरकारको नेतृत्व गरिरहेका छन् । यतिखेर उनी सरकार प्रमुख पनि हुन् । अब उनको नौ महिने शासनपछि २०८४को चुनावसम्म पनि एमालेसहितको सरकार हुनेछ, प्रधानमन्त्री कांग्रेसको भए पनि !

अहिलेको सरकार संचालनको मोडल आगामी निर्वाचनसम्म जान्छ भनेपछि के प्रष्ट देखिन्छ भने काँग्रेस सत्तामा पुगेपछि पनि सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायको मुद्धामा देशको जेठो पार्टीलाई ओलीले सहमत गराएको बुझ्न सकिन्छ । सबैलाई अवगत नै छ, कांग्रेस कन्जरभेटिभ छ । अलिअलि पुरातनपन्थी र समाजवादी उदारवादी कित्ताको पनि भएकोले समाज स्वतह रुपान्तरणको दिशामा अगाडि बढ्न थाल्नेछ । त्यसपछि राज्यसत्ता र लोकतान्त्रिक मूल्यमान्यतालाई कायम गरे मात्र पनि निरन्तरता स्वचालित हुनथाल्छ । यसले निसन्देह जनतामा रहेको निरासालाई आशामा परिणत गर्नेछ । त्यसैले केपी ओलीले कांग्रेसलाई सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायको साझा मुद्धामा सहमत गराएर संगसंगै हिडाउनु भनेको नबुझिंदो गरी ठूलो रुपान्तरण गर्नु हो । आखिर देंगसियाओ पिंगले पनि सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायको पथमा चीनलाई अगाडि बढाएका हुन् । चीनमा देंगले सांस्कृतिक क्रान्तिपछि त्रिकालदर्शी नेताझैं राष्ट्रको पुनरनिर्माण, एकिकरण, सुन्दर शान्त र समृद्ध चीन बनाउने सफलता पाएझैं ओलीले पनि त्यो सफलता पाउलान् त ? माओपछि देंगझैं, मदनपछि ओली बन्लान् त ? 

(जनआस्था साप्ताहिकको भदौ १८ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू