भण्डारी–खनालबीच रोचक भेट
धेरैले अहिले भन्ने गरेजस्तो एमालेको अध्यक्ष बन्ने सपना विद्या भण्डारीले चीनबाट फर्केपछि वा चीन भ्रमण गरेपछि मात्र देखेकी होइनन् । नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग बेइजिङ जानुअगाडि नै सोधेकी थिइन्, ‘म राजनीतिमा सक्रिय बन्नुपर्यो भन्ने सोच्दैछु । के गरौँ ? आऊँ वा नआऊँ ?’ समाचार स्रोतका अनुसार झलनाथले त्यसबेला धेरै सकारात्मक सल्लाह दिएनन् । बरु प्रतिप्रश्न गरेका थिए, ‘तपाइँ आउनेचाहिँ किन ? मचाहिँ त्यस्तो सल्लाह दिन्न ।’
झलनाथसँग भेटेर चीन गएकी विद्याले फर्केपछि फेरि भनिन्, ‘म त आउने नै भएँ नि !’ फेरि झलनाथले जवाफ दिए, ‘यदि केपी ओलीको कुर्सीमा बस्ने रहर मात्रै हो भने त्यसको कुनै अर्थ छैन । नयाँ सोच, योजना, कार्यदिशा र स्पष्ट रोडम्याप छ भने आए हुन्छ । तर, खास कुन उद्देश्यले आउन खोज्नुभएको त्यो पहिले प्रष्ट गर्नुपर्यो अनि मात्रै सहयोग गर्न सकिन्छ, हाम्रो समर्थन रहन्छ ।’
जवाफमा विद्याले भनेकी थिइन्, ‘सबै एकै ठाउँमा बस्नुपर्यो । त्यसको संयोजन गर्छु । नेपाली कम्युनिष्ट आन्दोलनलाई संरक्षण गर्नकै लागि पनि अगाडि आउनै पर्ने भो । ओलीको कार्यशैलीका कारण पार्टी, आन्दोलन सबै खिइँदै गयो । कमजोर बन्यो । यसको रक्षा हामीले नै गर्नुपर्छ । नेपाली कम्युनिष्टहरूको एकता नै मेरो पहिलो उद्देश्य हो । सिद्धान्तको रक्षा गर्न पनि म आउनै पर्ने देखियो ।’
यता, झलनाथ खनालले चाहिँ उनलाई भेट्न जानेहरूलाई आजकल ‘मैले पनि यसो समर्थनको सिग्नल दिएको थिएँ । विद्याले प्रष्ट अडान राखेपछि एमालेमा निकै ठूलो हङ्गामा शुरु भएको छ’ भन्दै सुनाउने गरेका छन् । नेकपा एसका केन्द्रीय सदस्य तथा संविधानसभा सभासदसमेत रहिसकेकी प्रभा बज्राचार्य, केन्द्रीय सदस्य तथा पेशागत महासंघकी उपमहासचिव सीता ओझा, टेकेन्द्र सुवेदी, ईश्वर नेपाली र वरिष्ठ अधिवक्ता तथा पेशागत महासङ्घका सभामुख शंकर सुवेदीसमेतको टोली झलनाथ खनाललाई भेट्न अघिल्लो बुधबार साँझ उनको निवास डल्लु गएको थियो । त्यो टोलीलाई झलनाथले विद्यासँग भएका बातचितदेखि लिएर आफ्नो पुरानो राजनीतिक यात्राबारे साढे दुई घण्टासम्म सुनाएका थिए । टोलीले सानो पार्टीभित्र झलनाथ र माधव नेपालबीच टकराव हुनु राम्रो नहुने सुझाव दियो । उनीहरूले उनलाई संयमित भएर पार्टी जोगाउन आग्रह गरेका थिए ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग विद्या भण्डारीको बातचित पनि झलनाथ खनालसँग झैँ उस्तै प्रकृतिको रहेको समाचार स्रोतले बताएको छ । त्यसो त कतिपय एमाले नेताहरूले चिनियाँ राजदूतलाई पनि के तपाईंहरूले विद्या भण्डारीलाई हौस्याएको हो भन्ने प्रश्न राख्ने गरेका छन् तर चीनले नेपालमा कम्युनिष्ट पार्टी बलियो भएको हेर्न चाहे पनि दल विशेषका कुनै व्यक्तिलाई बोकेर आफूहरू नहिँड्ने बताउँदै आएको छ ।
अहिले अरु दलका नेताहरू के भन्छन् भने केपी ओलीलाई नेपालमा कम्युनिष्टहरू बलियो भएको मन पर्दैन । उनीहरू एकै ठाउँ हुँदा आफूविरुद्धको मत बलियो हुने र आफ्नो हैसियत कमजोर हुने त्राश छ । त्यसैले कम्युनिष्ट आन्दोलन र एमाले कहाँ पुग्छ भन्दा पनि आफू कसरी सत्ताको केन्द्रमा रहिरहने भन्ने मात्रै ध्याउन्न रहेको छ । यसैकारण विद्या भण्डारीको त्यस्तो प्रयत्नविरुद्ध ओली निकै आक्रामक बनेको र सबै कम्युनिष्टलाई एकै ठाउँमा ल्याउने चाहनालाई तगारो हाल्न कुनै कसर बाँकी नराख्ने रणनीतिमा रहेको बताइन्छ ।
(जनआस्था साप्ताहिकको भदौ १८ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू