चीनमा विदेशी विश्वविद्यालय, नारा : ‘स्टडी इन हैनान’
चीनको हैनान फ्री ट्रेड पोर्ट, याङ्पुमा हाइनान बिलेफेल्ड युनिभर्सिटी अफ एप्लाइड साइन्सेस (बीआईयुएच) को औपचारिक शुभारम्भ भएको छ । यो चीनमा पहिलोपटक विदेशी विश्वविद्यालयसँग सम्बन्धनप्राप्त स्वतन्त्र विश्वविद्यालय बनेको छ ।
यो वर्ष सात सयभन्दा बढी शिक्षक–विद्यार्थीहरूले नयाँ शैक्षिक यात्राको थालनी गरेका छन् । बीआईयुएचकी उपाध्यक्ष जुडिथ पेल्ट्जका अनुसार विश्वविद्यालयमा जर्मनीको होक्सशुले बिलेफेल्ड – युनिभर्सिटी अफ एप्लाइड साइन्सेस एन्ड आट्र्सको ‘प्राक्टिस इण्टिग्रेटेड’ शैक्षिक मोडेल पूर्ण रूपमा लागू गरिएको छ । कक्षाहरू अंग्रेजी भाषामा सञ्चालन हुन्छन् भने जर्मन भाषा पनि पढाइन्छ ।
विश्वविद्यालयमा चिनियाँ, अंग्रेजी र जर्मन भाषासहित बहुभाषिक वातावरण सिर्जना गरिएको छ । हाललाई विश्वविद्यालयले कम्प्युटर साइन्स, डिजिटल टेक्नोलोजी, इन्डस्ट्रियल इन्जिनियरिङ, र लजिस्टिक्स इन्जिनियरिङ गरेर चार विषयमा स्नातक तहको अध्यापन थालेको छ।

‘नयाँ क्याम्पसको आधुनिक अध्ययन वातावरणले आदर्श शैक्षिक अवस्था सिर्जना गरेको छ। म यहाँबाट आफ्नो विश्वविद्यालय जीवन प्रारम्भको लागि आतुर छु,’ हालै भर्ना भएकी लजिस्टिक्स इन्जिनियरिङकी विद्यार्थी जियाङ युहानले भनिन् । पहिलो चरणमा लगभग २० हेक्टर क्षेत्रमा फैलिएको विश्वविद्यालयमा १.०४ अर्ब युआन लगानी गरिएको छ ।
पहिलो चरणको सबै पूर्वाधार निर्माणपछि कम्तीमा दुई हजार पाँच सय विद्यार्थी अध्ययन गर्न सक्छन् । विश्वविद्यालयको कलेजमा हाल स्वागत केन्द्र, सार्वजनिक शिक्षण भवन, प्रयोगशाला, विद्यार्थी केन्द्र, छात्रावास, शिक्षक अपार्टमेन्ट र खेलमैदानलगायतका सुविधा उपलब्ध छन्। सन् २०२९ मा सम्पन्न हुने दोस्रो चरणको निर्माणपछि १२ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्न सक्छन् ।
उक्त विश्वविद्यालयले जर्मनीको वेडमुलर, जेडएफ, ट्रम्पएफ र चाइना मोबाइल, हैनान शाखासहित १० प्रशिद्ध चिनियाँ र अन्तर्राष्ट्रिय कम्पनीहरूसँग रणनीतिक सहकार्य सम्झौता गरेको छ । यसले विद्यार्थीलाई विश्वमा प्राप्त पछिल्ला करियरको अवसर उपलब्धताको लागि मार्ग प्रशस्त गराउने छ ।
विश्वविद्यालयले ‘डुइङ बाइ लर्निङ, लर्निङ बाइ डुइङ’ को दर्शनमा अध्यापन थालेको जनाएको छ । यसले शैक्षिक जगत र उद्योगबीच घनिष्ठ सम्बन्ध बनाउने, हैनानमा शिक्षा, सीप अभिवृद्धि र औद्योगिक विकासलाई जोड दिने उपाध्यक्ष पेल्ट्जको भनाइ छ । उनका अनुसार, चीन र जर्मनीका गुणस्तरीय शैक्षिक स्रोतलाई जोडेर विश्वविद्यालयले एशिया–प्रशान्त तथा विश्वकै अग्रणी प्रयोगमुखी विश्वविद्यालय बन्ने लक्ष्य लिएको छ ।
यस्तै, चीनले ‘स्टडी इन हैनान’ अभियानलाई अन्तर्राष्ट्रिय शिक्षा आदान–प्रदानको प्रवेशद्वारका रूपमा अगाडि बढाइरहेको छ । प्रशान्त र हिन्द महासागरलाई जोड्ने हैनानले ‘बेल्ट एन्ड रोड’ सँग जोडिएका मुलुकसँग सहकार्यको नयाँ प्लेटफर्म प्रदान गर्दै चीनको शैक्षिक खुलापनमा बढ्दो भूमिका खेलिरहेको छ ।
टिप्पणीहरू