बालिकालाई ठक्कर दिने मन्त्री हलमै, ड्राइभर प्रहरी नियन्त्रणमा
पैदलयात्रीलाई ठक्कर दिँदै सडकमा गाडी हुँइक्याउने कोशी प्रदेश आर्थिक मामिलामन्त्री रामबहादुर मगरका ड्राइभर समातिएका छन् ।
हिजो बिहान ललितपुरको हरिसिद्धिमा मन्त्रीको गाडीले एक बालिकालाई ठक्कर दिएर भागेको थियो । एमाले नेतासमेत रहेका मन्त्री मगर गोदावरीस्थित पार्टीको विधान महाधिवेशनमा सहभागी हुन जाने क्रममा यो दुर्घटना भएको हो ।
झण्डा हल्लाउँदै गोदावरीतर्फ तीव्र गतिमा हुइँकिँदै गरेको को.१ झ ६९९ नम्बरको गाडीले हरिसिद्धिकी ११ वर्षीया उषा सुनुवारलाई जेब्राक्रसमा बाटो काट्दै गर्दा ठक्कर दिएको थियो । ठक्करपछि बालिका सडकमै ढलिन् भने मन्त्री मगर गाडीको स्प्रिड थप बढाएर भागे ।
त्यसपछि प्रहरीले चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको छ । तर, मन्त्रीलाई भने अहिलेसम्म उन्मुक्ति दिइएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले गाडी चालक चौधरीलाई हिजै नियन्त्रणमा लिएको बताए । उनका अनुसार गाडीको ठक्करबाट घाइते भएकी बालिकाको अवस्था अहिले सामान्य छ ।
चालक चौधरीलाई नियन्त्रणमा लिएपनि पीडित पक्षबाट हालसम्म कुनै उजुरी नपरेको एसपी जोशीको भनाइ छ । ‘उहाँ (चालक) हिजोदेखि नै हाम्रो नियन्त्रणमा हुनुहुन्छ । अहिलेसम्म उजुरी आएको छैन । दुवै पक्षबीच सहमति होलाजस्तो देखिन्छ । तर, उजुरी आयो भने चाँहि अनुसन्धान अघि बढाउँछौं,’ उनले भने ।
टिप्पणीहरू