केन्द्रीय बैंकमा संस्थागत सुशासन ध्वस्त
डा. विश्वनाथ पौडेल गभर्नर बनेपछि राष्ट्र बैंकभित्रको सुशासन क्रमशः खस्कँदै गएको छ । नयाँ दरबन्दी सिर्जना,कर्मचारीको सरुवा,विदेश भ्रमणमा भएको मनमौजी खटन पटनले सुशासन खस्केको मात्रै होइन,स्वाहा नै भएको गुनासो सुनिन्छ ।
गत असार महिनाको अन्तिम साता चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका पौडेलसँग प्रशासनिक ज्ञानको अभावका कारण केन्द्रीय बैंकको परम्परागत मूल्य मान्यतामा नियुक्तिको चार महिना नबित्दै ठेस लागेको त्यहाँका वरिष्ठ अधिकारीहरुले बताए । गभर्नरको प्रतिस्पर्धामा रहेकी ‘वरिष्ठ’ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना केही सातादेखि विदेशमा छिन् ।
मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउन जापान गएकी उनी उतै उतै घुमघामपछि मकाओ हुँदै स्वदेश फर्कने बताइन्छ । बैंक स्रोत भन्छ, ‘एएमएलसिएफ्टीको कार्यक्रममा जापान गएकी उनी छोरो उतै भएकाले अनिवार्य भ्रमण बिदा लिएर बसिन् । बिदा सकिएपछि बैंकको तर्फबाट मकाओमा हुने अर्को कार्यक्रममा सहभागी भएर नेपाल फर्कनेछिन् ।’ एकपछि अर्को कार्यक्रमका लागि विदेश भ्रमणमा, त्यसबीच भत्तासहितको अनिवार्य भ्रमण बिदा लिएर पुनः संस्थाको कार्यक्रममा उतैबाट मकाओ जानु सुशासन उल्लंघनको पराकाष्ठा हो ।
अर्का डेपुटी पनि केही समयदेखि विदेशतिरै छन् । सामान्यतयाः दुबै जना डेपुटीलाई विदेश पठाएर गभर्नर एक्लै कार्यालयमा हाजिर हुने प्रचलन नभएको एकजना पूर्व गभर्नरले बताए । यसबीच बैंक सञ्चालकहरु पनि पालैपालो विदेश गएकाले महत्वपूर्ण निर्णय गर्नुपर्ने सञ्चालक समितिको बैठक ठप्प छ ।
‘टाइम जोनका आधारमा दिन फरक परे पनि विमानको उडान अवधिभर खानाको सुविधा भएकाले दैनिक भ्रमण भत्ता दिनु नियमानुसार ठीक होइन ।’
दक्षिण अफ्रिका नजिकैको नामिबियामा सम्पन्न आफीको एउटा कार्यक्रममा बैंकका चार जना कार्यकारी निर्देशक,केही निर्देशक, उपनिर्देशक र सहायक निर्देशक हुल बाँधेर गएकाले व्यवस्थापन समितिको बैठक बस्न सकेको छैन । सामाजिक विकास,वित्तीय समावेशीकरण,महिला सशक्तिकरण,ग्रामीण विकास र आपतकालीन सहायतासम्बन्धी आइएनजिओ आफीको कार्यक्रममा केन्द्रीय बैंकबाट १२ जनाको टोली सहभागी भएको हो ।
यता डेपुटीहरु नभएकाले पदपूर्ति समितिको बैठकसमेत प्रभावित भएको मानव स्रोत व्यवस्थापन विभागका कर्मचारीहरु बताउँछन् । एक जनाले भने, ‘लुट्न सके लुट् कान्छा" शैलीमा हाकिमहरु हुलका हुल विशेषगरी अफ्रिका,दक्षिण अमेरिका,अमेरिका र युरोप सयरमा जाने गरेका छन् । गभर्नरको भ्रमण आदेशमा गएका उनीहरु सबैले कार्यालयको काममा गएको रेडिमेड जवाफ दिने गरेका छन् । नियमनकारी निकायको पछिल्लो अवस्थाले सुखद लक्षण देखाएको छैन ।’
उनका अनुसार बैंकमा हुँदै नभएको व्यवस्थाविपरित यस पटकदेखि विदेश भ्रमणमा तीन दिनको बाटो म्याद दिन थालिएको छ । यसअघि जुनसुकै मुलुक गएपनि बैंकका अधिकारीदेखि कर्मचारीसम्मलाई दुई दिनको बाटो म्याद दिने चलन थियो । तत्कालीन कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्केले सहायक निर्देशक हुँदा करिब २५ वर्षअघि आइएमएफको कार्यक्रममा जान बैंकले दिएको बाटो म्यादअन्तर्गत प्लेन बास उल्लेखित विषयलाई हटाउन लगाएका थिए । उनको जिकीर थियो, ‘टाइम जोनका आधारमा दिन फरक परे पनि विमानको उडान अवधिभर खानाको सुविधा भएकाले दैनिक भ्रमण भत्ता दिनु नियमानुसार ठीक होइन ।’
यता,महिनौंदेखि नीतिगत निर्णय हुन नसकेको केन्द्रीय बैंकका गभर्नर स्वयम् पनि यसबीच प्रायः चितवनको आफ्नो निर्वाचन क्षेत्रमा पुग्ने गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ का मतदाता तथा काँग्रेस नेता एवम् कार्यकर्तासँग नियमित भेटघाटका लागि उनी चितवन जाउआउ गरिरहेको बैंक स्रोतले बतायो ।
हुन तः गभर्नर पौडेलले गत जेठमा नियुक्त भएपछि काठमाडौंको एक पार्टी प्यालेसमा बधाई कार्यक्रमको नाममा चितवनका कार्यकर्तासँग भेटघाट गरेका थिए । उनी पछिल्लो निर्वाचनमा रास्वपाका हरि ढकालसँग झण्डै १० हजार मतान्तरले पराजित भएका हुन् । डेपुटी गभर्नर,सञ्चालक,मुख्य विभागका कार्यकारी निर्देशक तथा निर्देशकहरु हप्तौं अनुपस्थित हुँदा पनि गभर्नर पौडेल कार्यालयमा हाजिर हुनुले मात्रै केन्द्रीय बैंक सशक्त रुपमा अघि बढेको भन्न नमिल्ने तर्क एक जना सञ्चालकको छ ।
यता गभर्नर आफैँ बैंक ऐनमा तोकिएबमोजिमको शैक्षिक योग्यता पुष्टि हुने प्रमाणपत्र पेश गर्न नसकेको अवस्थामा छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा उनले यसअघि पेश गरेको लिखित जवाफमा तोकिएको विषयमा स्नातकोत्तर तहको प्रमाणपत्र रहेको दावी गर्न सकेका छैनन् ।
टिप्पणीहरू